आगामी वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा बत्ती र पानीको प्रबन्ध गर्ने मुख्यमन्त्री गुरूङको घोषणा
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा प्रदेशका सम्पूर्ण घरधूरीमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रबन्ध गरिने बताउनुभएको छ ।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं १ र २ लाई जोड्ने गरी खारपानीस्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उहाँले प्रदेशका पाँच लाख ८७ हजार २१९ घरधूरीमा नै खानेपानी र बिजुली बत्तीको प्रबन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गर्नुभयो ।
सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र बिजुली बत्ती पुर्याउने भएपनि तथ्याङ्क सङ्कलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनुपरेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रबन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत गरिएको तथा नेपाल विद्युत् प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारणलाइन पुर्याउने गरी सम्झौता भएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रशारणलाइन पुग्न ढिलाइ हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँमा सोलार प्यानलबाट बत्ती लैजाने योजना रहेको बताउँदै उहाँले भन्नुभयो, “धेरै बिजुली उत्पादन गर्ने प्रदेश भए पनि यहाँका नौ प्रतिशत घरमा बिजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यताको अन्त्य गरी अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा बिजुली पुर्याएर उज्यालो प्रदेश घोषणा गर्दछौँ ।”
प्रदेश सरकारले जनताको हित र ग्रामीण जनताको गरिबी हटाउँदै विकासका लागि सडक, खानेपानी, बिजुली, कृषि तथा पर्यटनमा नयाँ नयाँ योजनाअघि सारेर विदेश र पोखरामा बस्नेलाई गाउँ फर्काउने योजनामा रहेको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार गठनपछि २० पुल सम्पन्न भएका तथा १४५ सडक तथा पुलका योजना निर्माणको चरणमा रहेकामा यसै आर्थिक वर्षभित्रमा ३० देखि ४० पुल सम्पन्न हुने जानकारी गराउनुभयो ।
वर्षौदेखि सम्पन्न नभएका योजना प्रदेश सरकारलाई हस्तान्तरणपछि सम्पन्न हुँदै गएका बताउँदै उहाँले चालू वर्षमा १२१ झोलुङ्गे पुल निर्माण गरी जहाँ समस्या त्यहाँ प्रदेश सरकार भन्ने अभियानका साथअघि बढेको स्पष्ट पार्नुभयो । प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले गाउँपालिकाको रातोपानी, धिप्राङ र मर्दिखोलामा पक्की मोटरवेल पुल निर्माणका लागि योजना पेश गरिएको बताउँदै यसबाट गाउँपालिकाका नौवटै वडा तथा पोखरासम्म सडक सञ्जालले छुने जानकारी गराउनुभयो ।
साविक जिल्ला विकास समितिबाट विसं २०७२ चैत १९ गते निर्माण सम्झौता भएको सो पुल प्रदेश सरकार गठनपछि पूर्वाधार विकास कार्यालय मातहतमा आएको थियो । कूल रु चार करोड नौ लाख ३३ हजार ७४० लागतमा निर्माण गरिएको प्रि–स्ट्रेसड आरसीसी बक्स ग्रिडर डिजाइनको सो पुल ५८ मिटर लामो छ ।
नेपालमा भित्रिएको पछिल्लो प्रविधिलाई अनुशरण गरी निर्माण गरिएको पुल प्रदेशको पहिलो रहेको पूर्वाधार कार्यालयका प्रमुख एवं डिभिजनल इञ्जिनीयर शोभियत खड्काले बताउनुभयो । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले ऊर्जा, कृषि तथा पर्यटन विकासका माध्यमबाट समृद्धि प्राप्तिमा अघि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य मिना गुरुङ, गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, डोलिडारका पूर्वडिभिजनल इञ्जिनीयर गङ्गाबहादुर बस्नेत, स्थानीयवासी भीमबहादुर गुरुङ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ लगायतले पुल अभावमा गाउँपालिका कार्यालयसम्म पुग्न पोखरा हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको र ग्रामीण जनतामा खुशीयाली छाएको उल्लेख गर्नुभएको थियो ।( रासस )श्रोत देश सञ्चार