दोस्रो मृगौला प्रत्यारोपण कति सहज कति जटिल ? यस्तो छ चिकित्सकको बुझाई
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा फागुन २१ गते बुधबार मृगौला प्रत्यारोपण गर्दैछन् । त्यसको लागि प्रधानमन्त्री ओली सोमबार साँज ६:१० बजे अस्पताल भर्ना भइसकेका छन् ।
१२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए । त्यसपछि उनले नियमित औषधि सेवन गर्दै आएका थिए ।
औषधिले काम गर्न छाडेपछि उनी उपचारका लागि सिंगापुरमा गएका थिए । साउन १८ गते सिंगापुर गएर १०औं दिनमा फर्किएका प्रधानमन्त्री ओली भदौ ५ गते फेरि गए र २२ दिनपछि फर्किए । त्यसबेला मृगौलामा एन्टीबडीको मात्रा बढेकोले त्यसलाई घटाउन प्जाला फेरेसिस उपचार प्रक्रिया अपनाइएको थियो ।
केही समय सुधार देखिए पनि पछि पुनः दोहोरियो । त्यसैले कार्तिक दोस्रो सातादेखि प्रधानमन्त्री नियमित डायलासिसमा छन् ।
प्रधानमन्त्री ओलीको शल्यक्रिया लागि शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । प्रा डा ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्रा डा दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ ।
चिकित्सकहरुका अनुसार नेपालमा ९५ प्रतिशत भन्दा बढी मृगौला प्रत्यारोपण सफल भएका छन् । त्यसो त यो ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण हो । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘दोस्रोपटक मृगौला प्रत्यारोपण गर्दा पहिलो प्रत्यारोपणपछि खाइएका औषधिहरु लामो समयसम्म सेवन गरिएकोले त्यसले शरीरमा प्रभाव पारेको हुन्छ । अर्कोतिर शरीरलाई त्यस्ता औषधिहरु खाने बानी परिसकेको हुन्छ ।’ यसैले पनि दोस्रो प्रत्यारोपण सजिलैसँग गर्न सकिने काफ्लेको बुझाई छ ।
‘दोस्रो प्रत्यारोपण पनि सहजै राम्रोसँग जान्छ र गएका प्रशस्त उदाहरणहरु छन्,’ उनी भन्छन्, ‘पहिलोभन्दा दोस्रो केहीरुपमा सजिलो हुन्छ ।’ किन सजिलो हुन्छ त दोस्रो प्रत्यारोपण ? डा. काफ्ले भन्छन्, ‘वहाँको वस्तुस्थिति सबै तयार भएर शरीरले ती औषधिहरु खाँदा के हुनसक्छ भन्ने बारेमा पहिला थाहा थिएन भने अहिले सबैकुरा परीक्षण गरिसकिएको परिस्थितिमा र अगाडि पनि गरिएको हुन्छ । यसरी हेर्दा पहिलो र दोस्रो करिब करिब उस्तै उस्तै भन्न मिल्छ ।’
उनका अनुसार दोस्रोपटक प्रत्यारोपण गर्दा यो धेरै जटिल हुन्छ भन्नुपर्ने अवस्था हुँदैन । ‘तर, यो शरीर भनेको कस्तो छ भने भन्नै नसकिने । तपाईंले आफ्नो हिसाबले जाँचेर सबै कुरा लिएर हेर्नुहुन्छ । त्यहाँ भइदिन्छ अर्कै ।’
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि सबै परीक्षणहरु सफल भएपछि मात्र प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गर्ने तयारी गरिएको हो । ६९ वर्ष पुगेका प्रधानमन्त्रीलाई दोस्रोपटक मृगौला प्रत्यारोपण गर्न लागिएकोले यसका लागि यो उमेर ठिक हो कि होइन भन्ने जिज्ञासा पनि पैदा भएको छ । तर, चिकित्सकहरु भने उमेरको कारण मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीमा त्यस्तो कुनै प्रतिकूलताहरु नरहेको बताउँछन् ।
प्रधानमन्त्रीको आत्मविश्वास हेर्दा दुई हप्तामै काममा फर्किने सम्भावना रहे पनि सामान्यतः एक महिनापछि काममा फर्कन सके राम्रो हुने चिकित्सकहरुको बुझाई छ । यद्यपि, अस्पतालले भने ६ दिनमै अस्पतालबाट डिस्चार्ज गरेर बालुवाटार पठाउने तयारी गरेको जनाएको छ ।
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरिसकिएकोले अब तेस्रो मृगौला कहाँ राख्ने होला भन्ने जिज्ञासा हुनु स्वभाविक नै हो । यसबारे डा. काफ्ले भन्छन्, ‘सामान्यतः हामीले जहाँ मृगौला छ, त्यो मृगौला झिकेर अर्को राख्ने होला भन्ठान्छौं । पुरानो मृगौला हामी चलाउँदैनौं । अधिकांश स्थितिमा पुरानो मृगौला पुरानै ठाउँमा बस्छ । नयाँ मृगौला हामीले दाहिने पट्टिको पेटको तल्लो भागमा राखिन्छ । हिजो दाहिनेपट्टि भागमा राखिएको थियो भने अब बायाँपट्टिमा भागमा राखिन्छ ।’
यसरी हेर्दा, प्रत्यारोपण सफल भएपछि ओलीसँग सामान्य मानिसको भन्दा थप मृगौला हुनेछन् । तेस्रो प्रत्यारोपण गर्नुपर्यो भने के होला ? शरीरमा पाँचवटासम्म मृगौला रहने भयो नि त ? यो प्रश्नमा डा. काफ्लेको जवाफ छ, ‘तेस्रो प्रत्यारोपण गर्नुपर्यो भने दाहिनेपट्टिको झिकेर त्यो ठाउँमा राखिन्छ । विश्वमा ६ वटासम्म प्रत्यारोपण भएका छन् । यो दोस्रो प्रत्यारोपणमा त्यति जटिलता नआउला ।’
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालले जनाएको छ । उनका लागि आवश्यक मिर्गौला दिने व्यक्ति पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छिन् ।
प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना भएका छन् । उहाँ ६०१ नं शय्यामा भर्ना भएका छन् ।
मृर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कन सक्नेछन् । कार्यकारी निर्देशक खड्गाले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने बताएका छन् । ‘अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ’, उनले भने, ‘हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौँ, हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलाई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।’
बुधबार शल्यक्रिया सुरु भएपछि मिर्गौला प्रत्यारोपण गर्न तीनदेखि चार घण्टा लाग्छ । २०६५ सालबाट शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएपछि अहिलेसम्म करीब ८०० जनामा सफल मृगौला प्रत्यारोपण भइसकेको छ ।
प्रधानमन्त्रीकाे स्वास्थ्यलाभकाे कामना सहित साझापाेष्ट बाट