मलेसियाका राजाद्वारा अकस्मात् नयाँ प्रधानमन्त्री नियुक्त

निरन्तर न्यूज
१७ फाल्गुन २०७६, शनिबार १७:३५

एजेन्सी। मलेसियाका राजा सुल्तान अब्दुल्लाहले नयाँ प्रधानमन्त्रीमा मुहिद्दिन यासिनलाई नियुक्त गरेका छन् ।

मलेसियाको राजदरबारले शनिबार यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी गराएको हो । यासिन पूर्व गृहमन्त्री समेत हुन् । मले नेशनालिस्ट पार्टीको समर्थनमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

महाथिर मोहम्मदले राजीनामा दिएको १ हप्तापछि यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिने छन् ।

राजाले अकस्मात् नयाँ प्रधानमन्त्रीमा यासिनलाई नियुक्त गरेपछि महाथिर र अनवर इब्राहिम किनारा लागेको रोइटर्सले जनाएको छ ।

दरबारको कदमबारे महाथिर मोहम्मद र अनवर इब्राहिमले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

शनिबार नै महाथिरले पुनः प्रधानमन्त्रीको उम्मेदवार बन्न सहमत भएका थिए । राजीनामा दिएको एक हप्ता नबित्दै महाथिर यसअघिको गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सहमत भएका हुन् ।

एक हप्ताअघि महाथिरले राजीनामा दिएपछि मलेसियामा राजनीतिक संकट गहिरिएको थियो ।

दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उनी राजीनामा गर्न बाध्य भएका थिए ।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।

तर शनिबार महाथिरले पुरानै गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । ‘बहुमत प्राप्त गर्नका लागि पर्याप्त संख्या छ भन्नेमा म विश्वस्त छु’, उनले भने ।

महाथिरलाई प्रधानमन्त्री बनाउन अनवर इब्रामिहले समर्थन गर्ने समाचार माध्यममा जनाइएको छ । योसँगै झण्डै २ दशकदेखि मसेलियाको राजनीतिमा प्रभाव जमाउँदै आएका दुबै नेताहरू पुनः एकजुट भएका छन् ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो ।

चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो । तर महाथिरले सत्ता हस्तान्तरण गर्न ढिलाई गरेको भन्दै अनवरले विरोध गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*