खुमलटारकाे सन्देश बाेकेर माधव नेपाल पुगे बालुवाटार, के छ सन्देशमा ?
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा शुक्रबार बिहान बसेको नेकपाका शीर्ष नेताहरुको सन्देश बोकेर वरिष्ठ नेता माधव नेपाल बालुवाटार पुगेका छन् ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयपछि देखिएको विवादबारे समाधानको नयाँ प्रस्ताव बोकेर बालुवाटार पुगेका नेपाल र प्रधानमन्त्री ओलीबीच अहिले छलफल भइरहेको छ ।
यसअघि भएको सचिवालयको बैठकले सर्वसम्मतरुपमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । निर्णयको केहीबरेमा प्रधानमन्त्री ओलीले सचिवालय निर्णयलाई चुनौती दिँदै डा. युवराज खतिवडालाई नै राष्ट्रियसभामा पठाउने खबर सार्वजनिक गरेका थिए ।
विकसित अवस्थाबारे खुमलटारमा भएको छलफलको निष्कर्ष नेपालले अध्यक्ष ओलीलाई सुनाउने बताइएको छ ।
खुमलटारमा भएको छलफलमा सहभागी प्रचण्ड, नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले सचिवालयको सर्वसम्मत निर्णय कार्यान्वयन नभए दुर्घटना हुने चिन्ता व्यक्त गरेका थिए ।
के छ प्रचण्डको सन्देश ?
खुमलटारमा एकाबिहानै बैठक सकेर प्रचण्ड चितवन पुगे । त्यहाँ पुगेर उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सचिवालयको निर्णय कार्यान्वयन नहुने कुरा आफूले कल्पना पनि नगरेको बताए ।
त्यहाँ उनले डा. खतिवडालाई नेपालको संवैधानिकअनुसार नै थप ६ महिनासम्म प्रधानमन्त्रीले अर्थमन्त्री बनाउन सक्ने धारणा राखे ।
स्रोतका अनुसार माधव नेपाल यही सन्देश बोकेर बालुवाटार गएका हुन् ।
उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्ने र डा. युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री हुन सक्ने प्रस्ताव प्रचण्डको रहेको छ ।
यो मध्यमार्गी विकल्पले नेकपाको विवाद तत्कालको लागि समाधान हुने बताइएको छ । स्रोतका अनुसार महासचिव विष्णु पौडेल लगायतका नेताले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यन्वयन गरेर पनि खतिवडालाई निरन्तरता दिन सकिने उपाय सुझाएका थिए ।
अप्ठेरोमा परेपछि ओली पक्षीय नेताहरुले यो विकल्प तयार पारेको बताइएको छ ।