उडिरहेको अमेरिकी जासुसी विमानमाथि शक्तिशाली लेजर प्रहार गरेकाे दाबी
एजेन्सी । अमेरिकाको जलसेनाले चिनियाँ युद्धपोतबाट आफ्नो एक जासुसी विमानमा लेजर प्रहार भएको दाबी गरेको छ ।
बिहीबार अमेरिकी जल सेनाले चिनियाँ युद्धपोतबाट आफ्नो पि-८ नामक जासुसी विमानमाथि सैन्य प्रयोजनमा प्रयोग हुने लेजर (औजारको रुपमा प्रयोग गरिने शक्तिशाली किरण) प्रहार भएको जानकारी गराएको हो ।
अमेरिकी जल सेनाका अनुसार गत हप्ता प्रशान्त महासागरमा उडिरहेका बेला पि-८ जासुसी विमानमाथि लेजर प्रहार भएको थियो । चिनियाँ युद्धपोतको व्यवहार ‘असुरक्षित र अव्यवसायिक’ भएको पनि अमेरिकी जल सेनाको भनाइ छ ।
‘हतियारको रुपमा प्रयोग हुने लेजरले जहाज र पानी जहाजका चालक दलका सदस्यलाई गम्भीर हानि गर्न सक्छ’, अमेरिकी जल सेनाले एक विज्ञप्तिमा भनेको छ ।
सैन्य प्रयोजनका लागि प्रयोग गरिने लेजरलाई ड्याजलर वा आँखा तिर्मिराउन सक्ने किरण पनि भन्ने गरिन्छ । यस्तो किरण निकै लामो दूरीसम्म पुग्न सक्छ । साथै जहाज वा पानी जहाजलाई लक्षित गरी प्रहार भएमा जहाजको ककपिट पूरै झलमल हुने र आँखा तिर्मिराएर चालकले केही समय कुनै पनि कुरा नदेख्ने अवस्था आउँछ ।
चिनियाँ युद्वपोतबाट शक्तिशाली लेजर प्रहार भएको घटनालाई लिएर कुटनीतिक रुपमा विरोध जनाउने पनि अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।
अमेरिकी र चिनियाँ सेनाबीच तनाव जारी रहेका बेला उक्त घटना भएको हो । अमेरिकी रक्षा मन्त्रालयले चीनका कारण क्षेत्रीय सुरक्षा जोखिममा परेको र क्षेत्रीय प्रभुत्वका लागि चीनले सैन्य क्षेत्रमा महत्वपूर्ण लगानी गरेको बताउँदै आएको छ ।
‘केही समयदेखि उनीहरू (चिनियाँहरू) ले साउथ चाइना सीका द्वीपहरूलाई कब्जामा लिएर सैन्यकरण गरिरहेको, आफ्नो फौजलाई तीव्रगतिमा आधुनिकीकरण गरिरहेको र अन्य मुलुकलाई जोखिममा पारेर विश्वको शक्तिलाई बदल्न र विश्वलाई पुनर्गठन गर्न नयाँ प्रविधि प्रयोग गरिरहेको देखिन्छ’, केही समयअघि अमेरिकी रक्षामन्त्री मार्क एस्परले भनेका थिए ।
अमेरिकाले यसअघि पनि चिनियाँ सेनाद्वारा आफ्ना विमानमाथि लेजर प्रहार गरिएको दाबी गर्दै आएको थियो । सन् २०१८ मा जिबुटीमा रहेका आफ्ना पाइलटलाई लेजर प्रहार गरेर घाइते बनाएको अमेरिकाको आरोप थियो ।