अष्टलक्ष्मीले प्रधानमन्त्रीलाई भनिन्- जन्मदिनमा बत्ती बाल्ने हो कमरेड, नेपाल आमाको केक काट्ने होइन
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली बिहीबार बागमती प्रदेशका आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका थिए।
उनीसँगै अर्का अध्यक्ष प्रचण्ड र सचिवालयका अरू सदस्यहरू पनि मञ्चमा आसिन थिए। कार्यक्रम सुरू भयो।
नेताहरूले प्रशिक्षण दिनुभन्दा पहिला नेकपाको बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बोलिन्।
सम्बोधनका क्रममा उनले उल्टै प्रधानमन्त्री ओलीलाई ‘प्रशिक्षण’ दिइन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा हेलिकप्टरमा १५ किलोग्रामको केक लिएर तेह्रथुममा काटेको विषय चर्चामा छ।
‘जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस्,’ शाक्यले भनिन्।
हलभरि ताली बज्यो।
सामाजिक सञ्जाल, सञ्चारमाध्यम, संसद र नागरिक वृत्तमा जन्मोत्सव मनाउने प्रधानमन्त्रीको शैलीको विरोध भए पनि उनकै सामुन्ने पार्टीका नेताले यसरी विरोध गरेका थिएनन्।
शाक्यले सरकारका मन्त्रीहरूले बार्गेनिङ गरेका कुराले हामीले ल्याउन चाहेको समाजवाद कस्तो भन्ने प्रश्न उठेको पनि बताइन्।
‘रूपान्तरण हामीले आफैंबाट हुनुपर्छ,’ शाक्यले भनिन्।
अगुवा कार्यकर्तालाई ओली ‘प्रचण्ड’ले प्रशिक्षण दिनेछन्।
उनीहरूसँग वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रशिक्षणमा सहभागी छन्।
बुधबार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवादले उग्र रूप लिएको छ।
प्रधानमन्त्री ओलीले सचिवालयको उक्त निर्णय नमान्ने र अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने बताएका छन्।
विवाद साम्य नभए पनि आज दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्। यसअघि सुर्खेत र कोहलपुरमा भएको कार्यक्रम प्रशिक्षणमा प्रचण्ड गएका थिए भने पोखरामा प्रधानमन्त्री ओलीले प्रशिक्षण दिएका थिए। श्राेत : सेताेपाटी