मातातीर्थको जग्गाबारे कुनै गुनासो छैन : डा. भट्टराई
काठमाण्डाैँ । मातातीर्थस्थित नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार सो क्षेत्रको स्थलगत निरीक्षणसँगै स्थानीयसँग छलफलसमेत गरेका छन् ।
स्थलगत भ्रमण र स्थानीयसँग छलफल गरेपछि उनले भने, ‘सरकारले जग्गा भुमाफियालाई दिने कुत्सित मनसायले असान्दर्भिक प्रसंग जोडेर उचालेको हो ।’ एउटा चोरले आफ्नो चोरीलाई ढाकछोप गर्नका निम्ति अर्कातिर औँला ठड्याएजस्तो भएको भन्दै उनले यसमा जनता सतर्क हुनुपर्ने बताए ।
‘जग्गा वास्तविक मोही र जोताहा किसानले पाए कि पाएनन् भनेर हेर्न बाँकी थियो,’ उनले भने, ‘त्यो आज हेर्न पाउँदा गर्व लागेको छ ।’ आफ्नो पालामा नीतिगत निर्णय भएर जग्गा मोही र जोताहा किसानलाई दिइएको भए पनि वास्तविकता फरक छ कि भन्ने केही आशंका आफूमा रहेको उनल बताए । तर स्थलगत भ्रमणका क्रममा जग्गामा पुस्तौँदेखि दलित तथा विपन्न वर्गका मानिस झुपडी र कच्ची घर बनाएर बसेको पाइएपछि आफू ढुक्क भएको उनको भनाइ छ ।
१२ भदौ ०६८ देखि ३० चैत ०६९ सम्म सरकारको नेतृत्व गरेका डा. भट्टराईको पालामा सो रैकर जग्गा मन्त्रिपरिषद्मार्फत छानविन गरेर दर्ता गरिएको थियो । ‘राजा महाराजाले सित्तैमा ओगटेको जग्गा उनीहरूले आफूलाई दानी देखाउन ०२६ सालमा जनतालाई फिर्ता गरे । तर रैकर भएर कानुनी तरिकाले दर्ता हुन सकेको थिएन,’ डा. भट्टराईले भने, ‘हाम्रो पालामा छानबिन गरेर दर्ता गरिदिएको हो । यो त न्याय गरेको कुरा हो ।’
दरबारले त्यागेर रैतीलाई दिएको बताउँदै एक स्थानीयले नेपाल सरकारले फिर्ता गरेर लुट्न खोजेको आरोप लगाए । उनीहरूले सरकारले सुकुम्बासी बनाएर सडकमा ल्याउन खोजे हिंसात्मक प्रदर्शन हुने चेतावनीसमेत दिएका छन् । ‘दरबारले त्यागेर रैतीलाई दिएको जग्गा नेपाल सरकारले फिर्ता गरेर लुट्न खोज्दैछ,’ एक स्थानीयले भने, ‘हामीलाई सुकुम्बासी बनाइँदै छ । सरकारले सत्यतथ्य केलाउनु पर्छ । हामी बरु मर्न तयार छौँ तर हाम्रो जग्गा छाड्दैनौँ ।’
यसरी भएको थियो निर्णय
तत्कालीन भूमी सुधार मन्त्रालयका उपसचिवको नेतृत्वमा समिति गठन गरी महिनौँ लगाएर सो जग्गाको सर्वेक्षण गरिएको थियो । पोष्टबहादुर बोगटी नेतृत्वको विधायन समितिले सिफारिस गरेपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
गत ३ फागुन शनिबार संसदमा सरकारले दुई वर्षमा गरेको उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले मातातीर्थस्थित नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गाको छानविन हुने बताएका थिए । श्राेत : नयाँ पत्रीका