अदालतद्वारा सांसद साहसँग ५ लाख धरौटी माग
कपिलवस्तु । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सांसद अभिशेक प्रताप साहसँग अदालतले ५ लाख धरौटी माग गरेको छ । राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य श्याम मिश्रा विरुद्ध ज्यान मार्ने उद्योगमा कपिलवस्तु क्षेत्र नं.३ बाट निर्वाचित सांसद साहसंग जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको हो ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलाशले साहलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ बमोजिम ५ लाख धरौटी लिई मुद्दाको पुर्पक्षका लागि आदेश दिएको छ ।
पुस ५ गते कृष्णनगर स्थित आफ्नै निवासमा काँग्रेस नेता तथा सांसद साहले राप्रपा संयुक्तका नेता एवम भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रालाई आक्रमण गरेर घाइते बनाएका थिए । लगत्तै पीडितको जाहेरी पश्चात प्रहरीले घटनामा संलग्न सांसद साह तथा चालक शशी कहाँर विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले सांसद साहका चालकलाई पक्राउ गरे पनि साह भने भारत तर्फ भाग्नुभएको थियो । जिल्ला अदालतले यसअघि चालक कहाँरलाई पनि घटनामा कसुरदार देखिएको भन्दै ५ लाख धरौटीसहित पुर्पक्षका लागि आदेश दिएको थियो । सांसद साह हिजो बिहान १० बजे अदालतमा हाजिर भएका थिए । श्रोत साझा पोस्ट