अफगानी सैनिकको गोली प्रहारबाट २ अमेरिकी सैनिक मारिए
काबुल । अफगानिस्तानमा दुई अमेरिकी सेना मारिएका छन् भने छजना घाइते भएका छन् । पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई अमेरिकी सेनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी सैनिकका प्रवक्ता कर्नेल सोनी लिग्गेटले भने, ‘पछिल्ला रिपोर्टहरुलाई हेर्दा एकजना अफगानी पोसाकधारी व्यक्तिले अमेरिकी-अफगानी संयुक्त सैन्य बलमाथि मेसिनगल चलाएको देखिन्छ ।’
उनले उक्त आक्रमण नानगरहर प्रान्तमा शनिबार भएको बताएका छन् । सन् २००१ देखि अफगानिस्तानमा करिब १३ हजार सैनिक रहेका छन् ।
कर्नेल लिग्गेटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी उक्त घटनाको विषयमा अनुसन्धान गरेर सूचना संकलन गरिरहेका छौं ।’
यसअघि नोभेम्बर, २०१९ मा अफगानिस्तान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका अमेरिकी सेनाको संख्या घटाउने बताएका थिए ।