कोकिन सेवन गरी आफ्नै श्रीमति र २ छोरीको हत्या गर्ने व्यक्तिलाई विषालु इन्जेक्शन दिएर मारियो

निरन्तर न्यूज
२४ माघ २०७६, शुक्रबार १४:४६

एजेन्सी, २४ माघ । अमेरिकाको टेक्सासमा आफ्नै श्रीमति, २ छोरीसहित ५ जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।

बिहीबार ४७ वर्षीय अबेल ओकोआलाई विषालु इन्जेक्शन (सुई)मार्फत् मृत्युदण्ड दिइएको हो । उनलाई हत्या गरेको १७ वर्षपछि मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अबेललाई टेक्सासको हन्ट्सभिलस्थित मृत्यु च्याम्बरमा विषालु सुई दिइएको थियो । स्थानीय समय अनुसार बेलुका ६ः४८ बजे उनलाई मृत घोषणा गरिएको थियो ।

टेक्सासको फौजदारी न्यायालयले जारी गरेको विज्ञप्तिमा एक इजलासले १७ वर्षपछि हत्या अभियोग पुष्टि भएलगत्तै अबेललाई मृत्युदण्ड दिइएको बताएको छ ।

अबेलले १७ वर्षअघि (सन् २००२ अगस्ट ४ गते) क्र्याक कोकिन सेवन गरेर श्रीमति र छोरीसहित ५ जनाको हत्या गरेका थिए । कोकिनको नशासँगै उनले कोठाभित्र गएर २७ वर्षीया श्रीमति सिसिलिया, ९ महिने छोरी अनाही, ससुरा बार्टोला र साली जेकीको गोली हानी हत्या गरेको अभियोजनाकर्ताले बताएका छन् ।

त्यसपछि अबेलले ९ एमएम रुगर ह्याण्डगन पुनः लोड गरेर ७ वर्षीया छोरी क्रिस्टललाई किचेनमा लखेट्दै लगेर ४ पटक गोली हानेका थिए । त्यस्तै उनले अर्की साली आल्मामाथि पनि गोली प्रहार गरेका थिए । तर आल्मा भने बाँच्न सफल भएकी थिइन् ।

गोली प्रहार गरेलगत्तै अबेलले सिसिलियाको कार चढेर भाग्ने प्रयास गरेका थिए । तर उनलाई सोही क्रममा प्रहरीले रोकेर पक्राउ गरेको थियो ।

अबेलले आफूलाई पक्राउ गर्ने अधिकारीलाई आफूले प्रयोग गरेको बन्दुक घरभित्र टेबलमा रहेको, थप तनाव सामना गर्न नसक्ने र जीवनबाट वाक्क भएको बताएका थिए ।

अदालतका अनुसार अबेलले आफ्नो अपराध स्वीकार गर्दै श्रीमतिले लागू औषधका लागि थप पैसा नदिएको पनि बताएका थिए । हत्या अभियोगमा दोषी ठहरिएपछि उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

विभिन्न प्रान्तीय तथा संघीय अदालतले मृत्युदण्ड रोक्नुपर्ने भन्दै अबेलको पक्षमा दायर भएका पुनरावेदन खारेज गरेका थिए । त्यस्तै बिहीबार मात्रै अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड रोक्न भन्दै उनले दिएको निवेदन खारेज गरेको थियो ।

यस वर्ष अमेरिकामा मृत्युदण्ड पाउनेमा अबेल तेस्रो व्यक्ति हुन् । त्यस्तै टेक्सासमा मृत्युदण्ड पाउने उनी दोस्रो व्यक्ति हुन् । पश्चिमी मुलुकमा मृत्युदण्ड दिने व्यवस्था अमेरिकामा मात्रै छ ।

धेरै मृत्युदण्ड दिने अमेरिकी राज्यमध्ये टेक्सास पहिलो स्थानमा पर्छ । सन् २०१९ मा टेक्सासमा ९ जनालाई मृत्युदण्ड दिइएको थियो । १९७६ मा अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई पुनर्स्थापित गरेपछि अन्य राज्यमा भन्दा टेक्सासमा बढी मृत्युदण्ड दिइएको तथ्याङ्कले देखाउँछ ।

एमनेस्टी इन्टरनेशनलका अनुसार बढी मृत्युदण्ड दिने मुलुकमा अमेरिका ७ औं स्थानमा पर्छ । त्यहाँ सन् २०१९ मा २२ जनालाई मृत्युदण्ड दिइएको थियो जुन संख्या २०१८ मा २५ थियो ।श्रोत साझा पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*