बालुवाटार जग्गा प्रकरणः बाबुराम भन्छन्, ‘शिवजी जस्तै विष पिउन तयार छु’
काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा भनेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग छ तर प्रथम दृष्टिय यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ,’ ‘हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराई लेख्छन्, ‘मैले पनि असहजता महसूस गरेको छु !सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास क्याम्पभित्रको ११४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै ललितानिवास जग्गालप्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।श्रोत दैनिकी