नेकपा सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा
काठमाडौं । नेकपाका सांसद सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् ।
“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले भने ।
बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए ।
के भनेका थिए मन्त्री बास्कोटाले ?
गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए । कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए ।
उनको भनाइ थियो–अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो । अन्तर महादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको रु गलत हल्ला चलाएर हुन्छ ?हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं ।श्रोत अनलाइनखबर