अमेरिकी राजदूतावासमा रकेट आक्रमण
बगदाद । इराकको बगदादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण भएको छ ।
अति सुरक्षित मानिने दूतावास भएको स्थल ग्रिनजोनमा आइतबार राति रकेट आक्रमण भएको थियो । ग्रिन जोनमा पाँचवटा रकेट आक्रमण गरिएकोमा तीनवटा रकेट दूतावासमा ठोक्किएको बताइएको छ ।
आक्रमणबाट मानवीय क्षति भएको विवरण छैन । यससँगै अमेरिकी दूतावासमा एकै महिनामा तेस्रो हमला हो । इराकी कामचलाउ प्रधानमन्त्री अदेल अब्दुल महदीले विज्ञप्ति जारी गर्दै यस घटनालाई आक्रोसको संज्ञा दिएका छन् । साथै यस्तो घटनाले इराकलाई युद्ध मैदानमा बदल्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाले भने आफ्नो दूतावासको रक्षा गर्न इराकलाई आग्रह गरेको छ । ‘हामी इराकी सरकारलाई आग्रह गर्छौँ कि, उसले हाम्रो कुटनीतिक सुविधा पूरा गरी आफ्नो दायित्व पूरा गरोस् ।’
अमेरिकाविरुद्ध प्रदर्शन गर्दैआएका इरानी मिलिसियाले भने आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएका छन् । इराकको बगदादमा यसअघि पनि रकेट हमला भएको थियो । ती हमलामा इरानी पक्षको संलग्नता भएको बताइएको थियो ।श्रोत अन्नपूर्ण पोस्ट