उपसभामुखबारे नेकपासँग कुरा भएको छैन : राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपसभामुखको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग छलफल नभएको बताएको छ ।
आइतबार सभामुख निर्वाचित भएपछि संसदमा पत्रकारसँग प्रतिक्रिया दिँदै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उपसभामुखको विषयमा अहिलेसम्म सहमति नभएको बताए । उपसभामुखको विषयमा नेकपासँग छलफल त भएको होला नि भन्ने पत्रकारको प्रश्नमा महतोले भने ‘अहिलेसम्म केही कुरा भएको छैन ।’
नेकपासँग बहुमत रहेकाले उसले जुन पार्टीलाई प्रस्ताव गर्छ उसैले उपसभामुख पाउने उनको भनाइ छ । ‘फरक पार्टी फरक लिंगलाई दिनुपर्ने हो । उहाँहरुको बहुमत छ, जुन पार्टीलाई प्रस्ताव गनुहुन्छ सो पार्टीको पाउँछ’ उनले भने ।
आफूहरुले उपसभामुखका लागि दावी नगरेको महतोले जिकिर गरे । उनले अन्तिममा भने ‘दियो भने त ठीकै छ धन्यवाद दिउँला ।’श्रोत अनलाइनखबर