न्यायाधीश फुयाँलले अग्नि सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने
काठमाडौँ । सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ । सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए । पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको हो।
सुबोध प्याकुरेलले कानुन व्यवसायी रहेकै अवस्थामा सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले सापकोटाविरुद्ध बहस गरेका थिए । पहिले सापकोटा विरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल यतिबेला न्यायाधीश भइ सर्वोच्चमै कार्यरत छन् । त्यसकारण आफूले पहिले सापकोटाकै विरुद्धमा बहस गरेको कारणले पनि अहिले फुयाँलले उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।
सापकोटाको मुद्दा आज हेर्न नमिल्नेमा परेको कारण आजको पेशी स्थगित भएको छ । यता सापकोटा आज नै सभामुखमा चयन हुँदैछन् ।श्रोत दैनिकी