सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

निरन्तर न्यूज
७ माघ २०७६, मंगलवार १२:१५

काठमाडौं ।नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख खाली भएको थियो । यद्यपि, नेकपाभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थियो । सत्तारूढको यो कार्यशैलीको चर्को आलोचनासमेत भएको थियो । लामो अन्योलता चिर्दै नेकपाले अग्निलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

शिवमाया तामाङले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने १२ गतेपछि सुरु हुने बताइएको छ ।श्रोत अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*