उपसभामुखको राजीनामा आउँदै, संसद् बैठकपछि पत्रकार सम्मेलन गर्ने
काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।
यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतवार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए । उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् । ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।
अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।
संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।
यसैबीच, नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेको व्यवस्थापनका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका छन् ।
तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी छ । अहिले शहरी विकास र कानून मन्त्रालयमा कामचलाउ मन्त्रीले सम्हालिरहेका छन् भने केही अरू मन्त्री पनि हेरफेर हुने सम्भावना छ ।श्रोत अनलाइनखबर