हेटौंडाका पत्रकार ढकालको हत्यारालाई जन्मकैदको सजाय

निरन्तर न्यूज
२ माघ २०७६, बिहीबार २०:२९

हेटौंडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकाललाई हत्या गर्ने दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले डकैतीसहित हत्या गर्ने हेटौंडा उपमहानगर ११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाईवा (तस्वीरमा रातो घेरामा राखिएको) लाई जन्मकैद र जरिवाना गर्ने फैसला गरेको हो ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा जन्मकैद र डाका मुद्धामा १४ वर्ष कैदका साथै जनही ७० हजार रुपैँया जरिवानाको फैसला भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशवराज कौशिकले बताए ।

ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने हेटौँडा–२ का सुन व्यवसायी नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना, सुन पसल देखाईदिने ठाकुर भुसाललाई मतियारको रुपमा १० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले यस्तो फैसला गरेको कौशिकले बताए । ढकालको लुटिएको मोबाइल खरिद गर्ने मोबाइल व्यवसायी भीमफेदी–६ का ३१ बर्षीय दिनेश थापा र अर्का एकजनाले सफाई पाएका छन् ।

हेटौंडा–११ नवलपुरका ३८ वर्षीय शिक्षक समेत रहेका पत्रकार ढकालको २०७५ पुस २५ गते हेटौंडा–१ राप्तिपुल माथि भैरवडाँडा जाने सडक भित्रपट्टी जंगलमा हत्या भएको थियो ।

उनको हत्या गरेका युवकहरुले ढकालले लगाएको सुनको औंठी, मोबाइल, कम्प्युटर हार्ड डिस्क समेत लुटपाट गरेका थिए । घटनाको अनुसन्धानपछि तत्कालिन प्रहरी निरीक्षक मधुकुमार थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । तस्वीर : प्रष्टखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*