के सम्पादकको ‘मुटु’ छैन ?

निरन्तर न्यूज
२ माघ २०७६, बिहीबार १६:४४

पाएसम्म मिडियाको आलोचना गरिरहने प्रधानमन्त्री केपी ओली यसपटक सम्पादकमाथि नै खनिएका छन् । उनले भनेका छन्, “सरकारको राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् ।”

“कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि राम्रा कुरा गर्न थालिस् भनेर गाली खान्छ । राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, बिग्रिन्छस् भन्छन्” प्रधानमन्त्री ओलीले एउटा कार्यक्रममा बोल्दै थप अगाडि भनेका छन्, “हामीले गरेका त्यस्ता कामहरुको प्रशंसामा लेख्ने पत्रपत्रिका छैनन् ।”

भनिन्छ, ‘मिडिया जहिल्यै सरकारको प्रतिपक्षी हुनुपर्छ, किनभने मिडियाको काम प्रश्न गर्ने हो । प्रशंसा गर्नका लागि त आफ्नै राजनीतिक दल र गुटका समर्थकहरु हुन्छन् ।’

यतिवेला सरकारको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीकै दलका समर्थक र कार्यकर्ता हुन् चाहे सामान्य नागरिकहरुबाट सरकारले आलोचना खेप्नुपरेको छ ।

नहोस् पनि किन ? प्रश्न गर्ने प्रतिपक्षले पार्टीभित्रको आन्तरिक भागबण्डा मिलाउन नसकेर सडक र संसदलाई खाली गरिदिएको छ, खबरदारीको जिम्मेवारी यतिबेला मिडिया क्षेत्रले धानिरहेको छ ।

तर, प्रधानमन्त्रीलाई लागेको छ- यो सबै मिडियाकै कारण मात्र भइरहेको छ ।

सरकारलाई प्रशंसा गर्ने मुटु सम्पादकसँग नभएको भन्ने प्रधानमन्त्रीको सार्वजनिक मन्तव्यमा सम्पादकहरू असहज ठानेका छन् । उनीहरुको भनाइमा, प्रमको यस्तो अभिव्यक्तिले लोकतन्त्रमाथि उनको बोली र व्यवहारमा सन्देह गर्ने आधार दिएको छ ।

प्रतिक प्रधान
बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतिक प्रधान प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिलाई राजतन्त्रमा मिडियासँग राजाले देखाएको रवैयासँग तुलना गर्छन् ।

“यो कुनैबेला राजाले भनेजस्तै कुरा हो । राजाले शासन लिइसकेपछि फोन इन्टरनेट बन्द गरेर ‘मैले यति राम्रो गरेको छु, शान्ति सुरक्षा कायम गरेको छु’ तिमीहरु किन सहयोग गर्दैनौ भनेर सोधेका थिए” संकटकाल स्मरण गर्दै प्रधान भन्छन्, “त्यतिवेला हामी सम्पादकले आधारभूत मौलिक अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायत विषय जबसम्म सरकारले सुनिश्चित गर्दैन तबसम्म अरु जे गरे पनि जस सरकारलाई दिन मिल्दैन भनेका थियौँ । अहिले प्रधानमन्त्रीले पनि हुबहु त्यही त होइन तर त्यस्तै व्यवहार गर्न खोजेको देखिन्छ ।”

प्रधान जबसम्म यो सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न नखोजुञ्जेल, गठन भएको तीन महीनासम्म नयाँ निषेधित क्षेत्र घोषणा नगरुञ्जेल र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास नगरुञ्जेलसम्म मिडिया सरकारसँग एकदमै सकरात्मक रहेको बताउँछन् । “घोषणा मात्रैलाई राम्रो मानेर प्रचार गर्न सकिदैन, सरकारले घोषणा प्रमाणित हुने गरी काम गरेको छैन”, उनी भन्छन् ।

अरुण बराल
अनलाइनखबरका सम्पादक अरुण बरालले यसबारे एउटा लामो टिप्पणी नै लेखेका छन् । ‘ओलीको स्टालिनपथ: मुटु छ भने नडराए हुन्छ !’ शीर्षकको टिप्पणीभित्र बरालले लेखेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको मन र मुटुमा लोकतन्त्र, बहुलवाद वा बहुदलीयता छैन, मुखमा मात्र छ । प्रधानमन्त्रीको मन मुटुमा स्टालिनपथ छ, एकमनावाद छ । उनी जोसेफ स्टालिनले जस्तै आफ्ना आलोचकहरुलाई सिध्याएर प्रशंसकहरुको ‘हनुमानराज’ स्थापना गर्न चाहन्छन् ।”

प्रधानमन्त्री ‌ओलीले बोलेको वाक्यलाई नै लक्षित गरेर बरालले लेखेका छन्, “प्रधानमन्त्री ओलीसँग मुटु र ह्याऊ छ भने उनले चुनावअघि कसैसँग नडराए हुन्छ । उनीसँग बहुमत छ, निरीह नागरिकसँग विकल्प छैन ।”

पूर्ण बस्नेत
नेपालखबर अनलाइनका प्रधान सम्पादक पूर्ण बस्नेतका भनाइमा पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सरासर ‘गलत’ हो । आलोचनात्मक भएर सरकारलाई सचेत गराएकोमा प्रमले मिडियालाई धन्यवाद दिनुपर्नेमा पत्रकारलाई शपथ खाने-खुवाउने, मिडिया हाउसहरु बुर्जुवा भए भन्ने र मिडियालाई नियन्त्रण गर्ने खालका विधेयकहरु ल्याउने कार्य सरकारको भ्रष्टीकृत मानसिकताको उपज भएको उनको भनाइ छ।

“मिडियाले जहिले पनि सरकारलाई आलोचनात्मक दृष्टिले नै हेर्छ । सरकारले गरेको राम्रो काम पनि जनतासम्म मिडियाले नै लगेको हो” उनी भन्छन्, “मिडियाको कर्तव्य नै त्यही हो । सरकारको गुणगान गाएर मात्रै त समाचार आउँदैन । सम्बन्ध सुधार्न सरकारले नै राम्रो काम गर्नुपर्‍यो र पहल लिनुपर्छ ।”

गुणराज लुइँटेल
नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल प्रधानमन्त्रीले भनेजस्तो मिडियाले सकारात्मक विषयलाई समाचार नै नबनाएको भन्ने आरोपलाई ठाडै अस्वीकार गर्छन् । “भर्खरै मात्रै सरकारले साग आयोजना गर्दा होस् वा भ्रमण वर्षको आयोजना गर्दा सम्पादकीय लेखेरै शुभकामना दिएका छौं” उनी भन्छन्, ” कार्यान्वयन पक्ष सबल भएन भने हामीले त्यहाँ प्रश्न उठाउनु पर्ने कर्तव्य नै हो।”

उनी महालेखा परीक्षणको उदाहरण दिँदै बेरुजुको हिसाब निकाल्नु गलत भनेजस्तै मिडियाले गलत देख्दा गलत लेख्यो भन्नुको कुनै तुक नरहेको बताउँछन् । दोस्रो जनआन्दोलनपछि बनेका सबै सरकारहरु मिडियाको काम आफूले जे भन्यो त्यो मात्रै लेख्ने हो भन्ने मानसिकताबाट चलिरहेको उनको आरोप छ ।

उमेश चौहान
नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले भने प्रधानमन्त्रीको वा उनले नेतृत्व गरेको सरकारको प्रशंसामा लेख्ने अवसर नपाउनु आफ्ना लागि दुखद भएको प्रतिक्रिया दिएका छन् । “उहाँलाई ठूलो आशा र भरोसा गरेर जनताले ऐतिहासिक जिम्मेवारी दिएका हुन् । उहाँको लागि त राम्रै भएको हो” चौहानले भन्छन्, “गुमाएको त नागरिकले हो । नागरिकले यो सरकारलाई भोट दिए । तर परिणाम आएन । त्यसैले आलोचना भइरहेको छ ।”

उनले प्रधानमन्त्रीलाई कुनै पनि प्रश्न गर्दा हिँजोका सरकारलाई देखाउने कुरा सामान्य भए पनि आम मानिसका लागि त्यो गम्भीर विषय भएको बताए ।

प्रम ओलीको अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुसम्ममा यस विषयले व्यापक स्थान पाइरहेको छ ।

प्रशान्त अर्याल
कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्यालले फरक शैलीमा प्रतिक्रिया जनाएका छन् । ट्विटरमा नै सत्यनारायण राजभण्डारीको ‘मुटु मेरो चुडी लगिन् झुठो माया लाउनेले’ बोलको गीतको यूट्युब लिंक शेयर गरेर क्याप्सन लेखेका छन्, “मुटु नहुनुको कारण ।”

नारायण वाग्ले
लेखक तथा पूर्व सम्पादक नारायण वाग्ले भने प्रधानमन्त्रीको भनाइलाई गम्भीरतापूर्वक लिनु नहुने बताउँछन् ।

“प्रधानमन्त्रीको ठट्टा गर्ने बानी छ। कुनै भेटघाटमा रमाइलोका लागि भन्नुभएको विषयमा मिडियाले प्रतिक्रिया जनाइरहनु आवश्यक छैन” वाग्ले भन्छन्, “बरु सरकारले ल्याएको सूचना विधेयक तथा अरु कानूनको विषयमा बहस गर्नुपर्छ।”

श्राेत : हिमालखबर डटकममा दिपेश शाहीले लेखेकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*