प्रदेश सभामा एकल प्रस्ताव लैजाने सर्वसम्मत निर्णय
हेटौंडा । नेकपा सचिवालयले गरेको निर्णयलाई नै कार्यान्वयन गर्दै नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज सकिएको छ । लामो कसरत र रसाकस्सी सहित वादविवादका बीच पाँच दिनसम्म सञ्चालन भएको बैठकले अन्तत सचिवालयकै निर्णयलाई मान्ने गरि टुंग्याएको छ ।
पाँचौ दिनको बैठकले राजधानी हेटौंडा र र नाम बाग्मती रहने गरि एकल प्रस्ताव प्रदेशसभामा पेश गर्ने सहमति गर्दै आजको बैठक टुगिंएको छ ।
यस निर्णयसँगै प्रदेश ३ ले स्थायी राजधानी हेटौंडा र नाम बाग्मती पाउने पक्का भएको छ ।
बैठक समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा एउटा मात्र प्रस्ताव लैजाने सहमति गरेको जानकारी दिए । सबै सांसदको आआफ्नो धारणा सुनेपछि संसदमा राजधानीमा हेटौंडा र नाममा वागमतीको मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसहमत भएको बताए । पुस २७ गते प्रदेश ३ ले स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती पाउने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
यस्तै, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठकमा हेटौंडा स्थायी राजधानी र नाम वाग्मती कायम गर्न सवैको सहमति भएको बताउनुभएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै इन्चार्ज शाक्यले पार्टीको निर्देशानुसार एउटा मात्र प्रस्ताव दर्ता गर्न सबै सांसदहरु सहमत भएपछि पाँच दिन देखि बसेको बैठक समापन भएको उल्लेख गरिन् ।
सचिवालयले पार्टी प्रदेश कमिटी र सांसदहरु सँग सल्लाह नै नगरी निर्णय गरेका कारण केही समस्या आएपनि संसदीय दलको बैठकमा सबै सांसदले मत राखेपछि एउटा टुंगोमा पुगेको शाक्यले बताइन् ।
उनले राजधानी र नाम राख्ने कुरा महत्वपूर्ण र दुरगामी विषय भएकाले लामो समय छलफल हुनु स्वभाविक प्रक्रिया भएको भन्दै यसमा सवैले अपनत्व ग्रहण गर्ने प्रकारको हुनपर्नेमा समेत जोड दिइन् ।
नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले सबै प्रदेश सभाका सदस्यहरुले अहिले गरिएको निर्णय अनुसार अघि बढ्नमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।