बाबु जमिन बेच्ने, छोरी मुद्दा हाल्ने

निरन्तर न्यूज
२३ पुष २०७६, बुधबार १५:३४

दाङ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने युवराज आचार्य कांग्रेस लक्ष्मीपुरका इकाइ सभापति हुन् र पटक–पटक विवादमा आइरहन्छन् । केही समय पहिले बाटो मिचेर र थारूको पूजा गर्ने स्थानमा घर बनाएका कारण विवादमा आएका उनी पुनः विवादमा तानिएका छन् ।

जसले आफैं सार्वजनिक जमिन मिचेको छ उसले अरूलाई जमिन मिचेको आरोप लगाउँदै पहिले उपमहानगरपालिका र पछि जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । आफूले बेचेको जमिनमा किचलो उठाएका मात्रै छैनन्, आफूविरुद्ध छोरीलाई मुद्दा समेत हाल्न लगाएका छन् ।

तीन वर्षअघि काका नाता पर्ने दामोदर आचार्य र उनैका छोरा कान्तुप्रसादलाई एक कठ्ठा तीन धुर जमिन बिक्री गरेका थिए ०७३ साल पुस २१ गते । यसरी बेचिएको जमिनमा दामोदर र कान्तुले घर बनाउन थालेपछि युवराजले सडक सीमाना मिचेको भन्दै बाबुछोरालाई न्यायिक समितिमा उभ्याएका हुन् । असोज १२ गते युवराजले निवेदन दिएपछि नगरपालिकाले नाप जाँच गरेर उनैले बिक्री गरेको र घर निर्माण गर्न थालेको जमिनको सीमाना छुट्याइ दिएको थियो ।

न्यायिक समितिले छलफल गराएपछि कात्तिक ५ गते दुवै पक्षबीच मिलापत्र भएको थियो । सोहीअनुसार आचार्य बाबुछोराले घर निर्माण थाल्ना साथ युवराज अदालत गएका हुन् ।
न्यायिक समितिमा मिलेर आएको व्यक्तिले पुनः अदालतमा मुद्दा हाल्न गएको सुनेपछि स्थानीय मात्र होइन, आफन्तसमेत अचम्ममा परेका छन् । यस्तै साँध सिमानामा चित्त नबुझे सबैभन्दा पहिले वडा कार्यालय आउनुपर्नेमा त्यसो नगरेर नगरपालिका गएकोमा वडाध्यक्ष सार्कीलाई चित्त बुझेको छैन ।

‘हामीलाई जानकारी नै नदिएर नगरपालिकाको न्यायिक समितिमा पुगेका रहेछन्, त्यहाँ मिलापत्र गरेर आए, अहिले छोरीको नाममा पुसको १५ गते न्यायिक समितिमा निवेदन दिएका रहेछन्’, सार्कीले आइतबार वडा कार्यालयमा भने ।

उनले आफूले नियमबमोजिम काम गरिरहेका दामोदर आचार्यलाई घर निर्माणका लागि भनिसकेको बताए । युवराजकी छोरी लक्ष्मीले तीन वर्षअघि बाबुले बिक्री गरेको जमिनका सन्दर्भमा बाबुलाई नै विपक्षी बनाएर मुद्दा दर्ता गरेको पाइएको छ । युवराजले तीन वर्षअघि बिक्री गरेको जमिन फिर्ताका लागि भनेर बाबु समेतलाई मुद्दा दिएको भए पनि त्यो सबै नाटक भएको स्थानीय जानकार बताउँछन् ।

युवराजले सदियौंदेखि थारूले भुह्यार थानका रूपमा प्रयोग गरिरहेको जमिन मिचेर दुईतले घर बनाएका छन् । उनले बनाएको घरले सडक सीमाना पनि मिचेको छ । तर, उनैले बिक्री गरेको जमिनमा बन्दै गरेको घर घोराही रामपुर सडकको सिमानाभन्दा अझ टाढा छ । सार्वजनिक जमिन मिच्ने व्यक्तिले नै अरूलाई जमिन मिचेको भनेर मुद्दा दिएको देख्दा स्थानीय बासिन्दा अचम्ममा परेका छन् ।

आफूले पटक–पटक नौ लाख रुपैयाँ सापटीका रूपमा दिएको र पछि जमिन पास गरेर ल्याउँदा कुल रकम १९ लाख ५० हजार खर्च भएको पीडित दामोेदर आचार्यले बताएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*