आज देशभर वर्षा तथा भारी हिमपातको सम्भावना

निरन्तर न्यूज
२३ पुष २०७६, बुधबार १३:०२

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।

हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । काठमाडौँ उपत्यकासहितका बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बुधबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविद सजिना शाक्यले बताएकी छन् । पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वी क्षेत्रमा हल्का वर्षा हुने जनाइएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाइएको छ ।

बुधबार राति पनि देशभरको मौसम बदली भई पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।

बदलीका कारण काठमाडौँसहित देशभरका अधिकांश ठाउँको न्यूनतम तापक्रम बढेको छ । तर अधिकतम तापक्रम कम हुने भएकाले जाडो अत्याधिक हुने अनुमान छ । बिहान ७ डिग्री मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १२ देखि १४ डिग्रीसम्म मात्रै पुग्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*