राजधानी हेटौँडा र नाम बाग्मति राख्ने निर्णय पालना गर्न नेकपाको पुनः निर्देशन

निरन्तर न्यूज
२३ पुष २०७६, बुधबार १२:४५

काठमाडौ । ३ नम्बर प्रदेशको राजधानीबारे निर्णय गर्न नसकेको नेकपा ३ नम्बर प्रदेश संसदीय दललाई नेकपाका शिर्ष नेतृत्वले हेटौँडा राजधानी राख्ने निर्णय पालना गर्न पुनः निर्देशन दिएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको संसदीय दलमा निर्णय हुन सकेको थिएन ।
दलको बैठकमा केही सांसदहरुले नेकपा सचिवालय बैठकको निर्णय नमान्ने र हेटौंडाको पक्षमा मतदान नगर्ने बताएपछि नेकपा नेतृत्वले पुनः निर्देशन दिनु परेको हो । शिर्ष नेतृत्व भेट्न हेटौँडाबाट गएका केही सांसदहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिएका हुन् । सबै रणनीतिक महत्व मूल्यांकन गरेर राजधानी हेटौँडा राखिएको भन्दै राजधानी हेटौँडा र नाम बाग्मतिमा दायाँबायाँ नगर्न उनीहरुको निर्देशन थियो ।
संसदीय दलमा सहमति नजुटेपछि नेकपा प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य, मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं पुगेको थियो ।
नेतृत्वको निर्देशन पछि ‘हस्’ भन्दै उनीहरु हेटौँडा फर्किएको स्रोतको दावि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*