समाजवादीका अध्यक्षहरु `प्रेस नेपाल´ घोषणा गर्दै
काठमाडौं । समाजवादी पार्टीले आगामी शनिबार काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरी आफूनिकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’को घोषणा गर्ने तयारी गरेको छ ।
जसमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।
उक्त पार्टीको ‘नेपाल बौद्धिक पेसाकर्मी महासंघ’को औपचारिक घोषणा गर्ने र प्रेस नेपाललाई महासंघ अन्तर्गत नै राखिएको छ ।
समाजवादीका केन्द्रीय सदस्य तथा महासंघका सहइन्चार्ज पूर्ण बस्नेतका अनुसार महासंघ अन्तर्गतका १० मध्ये शनिबार सात वटा संगठनको नयाँ समिति घोषणा गरिने छ ।
तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि समायोजन गरी महासंघ घोषणा गर्न लागिएको हो । प्रेस नेपालको घोषणा काठमाडौंको टेकुस्थित मसला कटेजमा हुने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केही दिनअघि मात्र प्रधानमन्त्री निवास बालुवाटार परिसरमै आफुनिकट पत्रकारहरुको संगठन ‘प्रेस संगठन नेपाल’को समायोजन तथा पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
नेकपानिकट प्रेस संगठनको घोषणा सभामा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहभागी थिए । तर, उक्त कार्यक्रम सरकारी निवासमै आयोजना गरिएको भन्दै सोको विरोध समेत गरिएको थियो ।