सन्दीपबिनै खेलेको मेलबर्नको चौथो जित, पुग्यो शीर्षस्थानमा

निरन्तर न्यूज
१७ पुष २०७६, बिहीबार १६:२८

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स बलियो टोली सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा पुगेको छ।

यो संस्करणमा पहिलोपटक सन्दीपबिनै उत्रिएको मेलबर्नले उत्कृष्ट बलिङ गर्‍यो। पहिला ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४२ रन जोडेको थियो। ह्यारिस रौफले ३ र ग्लेन म्याक्सवेलले २ विकेट लिए। एडम जाम्पा र क्लिन्ट हिन्डक्लिफले एक एक विकेट हात पारे।

मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। विजयी टोलीका निक लार्किनले ६५ र मार्कस स्टोइनिसले ५८ रन जोडे। यी दुई ब्याट्सम्यानले दोस्रो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेका थिए। रन नजोड्दै निक म्याडिन्सनलाई गुमाएको मेलबर्नको जितको आधार लार्किन र स्टोइनिसले तयार गरेका हुन्।

लार्किनले ४५ बलमा एक छक्का र ८ चौका हिर्काए। ५१ बल सामना गरेका स्टोइनिसले २ छक्का र चार चौका प्रहार गरे। अन्तिम समयमा सिड्नीले लगातार विकेट लिएपनि हार टार्न सकेन। त्यसअघि केही खेलको विश्रामपछि टोलीमा फर्किएका रौफले शानदार बलिङ गरे। उनले चार ओभरमा केवल २३ रन दिए। म्याक्सवेलले तीन ओभरमा १७ रन खर्चिए।

यो खेल अघि सिड्नी शीर्षस्थानमा थियो। पाँच खेलपछि मेलबर्न स्टार्सको ८ अंक छ। दोस्रो स्थानमा रहेको एडिलेड स्ट्राइकर्सको पाँच खेलबाट ७ अंक छ। सिड्नीको ६ खेलबाट ७ अंक छ। सुरुका तीन खेलमा एक एक विकेट लिएका सन्दीपले पछिल्लो खेलमा विकेट लिन सकेका थिएनन्।

उत्कृष्ट प्रदर्शन गरिरहेका पाकिस्तानी तेज बलर रौफले तीन खेलबाट १० विकेट लिएका छन्। डेल स्टेन टोलीमा फर्किएपछि दुई खेलमा ७ विकेट लिएका रौफलाई अप्रत्यासित रुपमा ‘ड्रप’ गरिएको थियो। टोलीका अर्का स्पीनर एडम जाम्पाले पाँच खेलमा ७ विकेट लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*