नेपालमाथिको नाकाबन्दीको विरोध गर्ने भारतीय नेता डीपी त्रिपाठीको निधन
काठमाडौं । नेपालमा पाँचमहिने नाकाबन्दीको विरोध गर्ने राष्ट्रवादी कांग्रेस पार्टीका नेता देवप्रसाद (डीपी) त्रिपाठीको निधन भएको छ । ६७ वर्षको उमेरमा बिहीबार उनको नयाँदिल्लीमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको निधनमा विभिन्न पार्टीका नेता तथा शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव रहेका त्रिपाठीले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलबीच १२ बुँदे सम्झौताका एक वार्ताकार पनि थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार नेपाल माओवादीको विद्रोहीका कारण गृहयुद्धले थलिएको समयमा त्रिपाठीले समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त समस्या समाधानदेखि १२ बुँदे सम्झौतासम्मको यात्रामा त्रिपाठी मुख्य पात्र थिए ।
१२ बुँदे सम्झौताका क्रममा वसन्त कुञ्जस्थित आफ्नो निवासमा बसिरहेका बेला माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी र अन्य भारतीय राजनीतिज्ञसँग परिचय गराएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
उनले भारतले नेपालमाथि लगाएको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । उनको निधनप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले श्रद्धाञ्जली अर्पण गरेका छन् । विदेशमन्त्री जयशंकरले त्रिपाठीले विश्व मामिलामा उनले खेलेको भूमिकाको प्रशंसा गरे ।
जयशंकरले ट्विटमार्फत भनेका छन्, “त्रिपाठीको निधनले मर्माहत बनाएको छ । सन् १९७३ मा हामीले जहवारलाल नेहरु विश्वविद्यालयमा भर्ना भएदेखि विश्वको विभिन्न राजनीतिक र कूटनीतिक मामिलाका विषयमा उनीसँग छलफल र बहस गर्थ्यौं । सधैं खुला हृदयले कुरा गर्ने एक व्यवहारिक व्यक्ति थिए ।”श्रोत १२खरी