सभामुख र उपसभामुख नेपाली कांग्रेसले पाउनु पर्छ : देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारेका छन् ।
सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे ।
एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको छ भने । उनले रिक्त रहेको सभामुख पदमा नेपाली कांग्रेसको दावी रहेको बताउँदै सभामुख र उपसभामुख दुबै पद एउटै पार्टीलाई हुन नसक्ने बताए । उनले सभामुख पद नेपाली पाउनु पर्ने दावी गरेका छन् ।