आइपीएल मार्च २९ तारिखदेखि सुरु
काठमाडौं ।१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मार्च २९ तारिखदेखि सुरु हुने भएको छ। आधिकारीक रुपमा आयोजकले प्रतियोगिताको मितिबारे घोषणा गर्न भने बाँकी रहेको छ। तर, दिल्ली क्यापिटल्सका एक अधिकारीले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार आइपीएलको आगामी सिजनको उद्घाटन मार्च २९ मा मुम्बईको वानखेडे स्टेडियममा हुने भएको हो।
उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले दिल्लीको सामना गर्ने ति अधिकारीले जानकारी दिए। मार्च २९ देखि आइपीएल सुरु हुनेभएपछि केही समयका लागि अष्ट्रेलिया, इङ्गल्याण्ड र न्यूजिल्याण्डका खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। अष्ट्रेलिया र न्यूजिल्याण्ड बीचको टी-२० सिरिजको अन्तिम खेल २९ तारिखमा रहेको छ। त्यस्तै इङ्गल्याण्ड र श्रीलंका बीच हुने टेस्ट सिरिज ३१ मार्चमा सकिने छ। तसर्थ यी खेलपछि मात्र खेलाडीहरु आइपीएलमा सहभागी हुन पाउने छन्। आइपीएलका एक अधिकारीले भने यी देशका सिरिज सकिएपछि १ अप्रिलदेखि प्रतियोगिता सुरु गर्ने की भन्ने बारेसमेत छलफल भइरहेको र चाँडै मिति घोषणा गरिने जानकरी दिए।