विश्वमै पहिलोपल्ट ‘जिन एडिट’ गरी बच्चा जन्माउन सफल वैज्ञानिकलाई ३ वर्षको जेल चलान
चीन । जिन सम्पादन ‘जिन एडिट’ गरेर विश्वमै पहिलो पटक बच्चा जन्म गराउन सफल चिनियाँ वैज्ञानिकलाई चीनको अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।
वैज्ञानिक हि जियानकुई जिन सम्पादन गरिएका तीन वटा बच्चा प्राकृतिक रुपमा जन्म गराउन सफल भएका थिए । यस कार्यको विश्वभरबाट आलोचना भएको थियो । विश्वभरका वैज्ञानिकले यस कार्य प्राकृतिक नियमभन्दा फरक भएको भन्दै विरोध गरेका थिए ।
वैज्ञानिक हि जियानकुईले जिन एडिट गरिएका ती बच्चाहरुलाई कहिल्यै एचआइभी एड्स नलाग्ने दाबी गरेका थिए । सिन्ह्वा समाचार संस्थाका अनुसार उनलाई तीन वर्षको जेल सजाय साथै ३० लाख युआन जरिवान गरिएको छ ।
उनका सहयोगी झाङ रेनिललाई दुई वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ भने किन जिनझाओलाई १८ महिना जेल सजाय र ५ लाख युआन जरिवाना तोकिएको छ । सिन्ह्वाका अनुसार अदालतले भनेको छ,‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे ।’ एजेन्सी