नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेन, उपसभामुखको भोली राजीनामा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म सभामुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
आइतबार सभामुख–उपसभामुख निर्वाचनका लागि मनोनयन दर्ता गराउने कार्यतालिका छ।
शीर्ष नेताहरुबीच छलफल जारी रहेको जानकारी दिँदै नेकपा संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङले सहमति भएपछि पार्टीले छिटै निर्णय सार्वजनिक गर्ने जनाए।
सभामुखको उम्मेदवार कसलाई बनाउने र उपसभामुख कुन दललाई दिने भन्ने विषयमा नेकपाले निर्णय गर्न सकेको छैन।
यसैबीच, उपसभामुख डा।शिबमाया तुम्बाहाङफेले सभामुखको पदका लागि दाबेदारी कायमै राखेकी छिन्।
बिहीबार शीर्ष नेताहरुसँग छलफल जारी राखेकी तुम्बाहाङफेले शुक्रबार बिहान राजीनामा दिने तयारी गरेकी छिन्।
बिहीबार साँझै राजीनामा आउने भनिए पनि पार्टीका नेताहरुसँग परामर्श जारी रहेकोले शुक्रबार राजीनामा दिने तयारी भएको उपसभामुखको सचिवालयले जनाएको छ।
शुक्रबार बिहान संघीय संसद सचिवालयमा उपसभामुख तुम्बाहाङफेले राजीनामा बुझाउने छिन्।
पुस १४ गतेका लागि सभामुख तथा उपसभामुख निर्वाचनको कार्यातालिका संघीय संसद सचिवालयले तयार पारेको छ। १३ गते मनोनयन दर्ता र १४ गते मतदानको तयारी सचिवालयले गरेको हो।