काठ लिलाम बिक्रीबाट ७४ लाख रुपैयाँ राजस्व

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार १५:३१

झापा । १ दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ ।

वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले ७४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

उनका अनुसार साल जातको काठ २ हजार ८९० घनफिट र अन्य जातको ६१६ घनफिट गरी ३ हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो ।

उनले सरकारले ३ ग्रेडमा राजस्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिए । उनका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट १ हजार, ७०० र ५०० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।

गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताए । काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौंदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उनले बताए । श्रोत लोकान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*