सुगर मिल नै बन्द हुने अवस्थामा, किसानको करोडौ रकम जोखिममा

निरन्तर न्यूज
१ पुष २०७६, मंगलवार १४:२९

रौतहट । रौतहटको सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्री राम सुगर मिल यस वर्ष सञ्चालन नहुने भएपछि जिल्लाका हजारौ उखु किसान मर्कामा परेका छन् । उखु किसानले यसअघिका बर्षकै उखुको भुक्तानी पाएका छैनन् । अघिल्लो बर्षको भुत्तानी नपाएको किसानहरु चिन्तामा छन् । मिल नै बन्द हुन लागेपछि किसानहरु दोहोरो मारमा परेका छन् ।

मिलले किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै अवस्थामा मिल बन्द गर्न लागिएको भन्दै किसानहरु यसरी चिन्तित बनेका हुन् । श्रीराम सुगर मिल्समा नै उखु विक्रि गर्नका लागि यो वर्ष त्यस क्षेत्रका ८ हजार किसानहरुले करिब ८ हजार विगहा क्षेत्रफलमा विभिन्न प्रजातीको उखु लगाएका छन् । क्षेत्रफलमा लगाईएको उखुको अनुमानित उत्पादन १४ लाख क्वीन्टल छ । सो बापत ६५ करोड ९६ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

२४ घण्टामा ३० हजार क्रसिङ क्षमता रहेको सो मिल्स स्थापना कालमा नाफामा रहे पनि ५ वर्षयता घाटामा सञ्चालन भइरहेको छ । पुरानो भुक्तानी नपाउँदा पीडित बनेको अवस्थामा मिल बन्द भएपछि खेतको उखु पनि त्यसै खेर जाने कृषक मोहम्मद मजबुल्लाको गुनासो छ । जसरी भएपनि मिल सञ्चालन गर्नुपर्ने माग राख्दै किसानहरु उखु उत्पादक संघ रौतहटका पुर्व अध्यक्ष जयनाथ यादवको अगुवाईमा आन्दोलनको घोषणा गरेका छन ।

उद्योगपति हितेश गोल्छालाई मिल्स सञ्चालन गर्नको लागि आफुहरुले पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नगरेको र आफुहरुसँग भेटन समेत नमानेका कारण बाध्य भएर आन्दोलनको कार्यक्रम घोष्णा गर्नुपरेको उखु उत्पादक संघका पुर्व अध्यक्ष यादवले बताए । मिल्स सञ्चालन भएर किसानहरुको समस्या समाधान नभएसम्म आन्दोलनको कार्यक्रम जारी नै रहने उनले बताए । मिल्सलाई प्रदेश या संघीय सरकारको मातहतमा ल्याएर भए पनि सञ्चालन गर्नुपर्ने कृषकहरुको माग छ । मिल बन्द भएपछि मिल्समा कार्यरत ३ सय ९५ जना कर्मचारी पनि बेरोजगार बन्ने निश्चित रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*