आगो निभेपछि आउँछ दमकल

निरन्तर न्यूज
३० मंसिर २०७६, सोमबार १०:३३

इटहरी ।  सुनसरीको इटहरी चोकस्थित बिग बार होटलमा केही दिनअघि आगो लाग्यो। चौथो तलामा भएको आगलागीबाट ४ करोड रुपैयाँभन्दा बढीको क्षति भयो। आगो निभाउन धरानको दमकल पहिला आइपुग्यो। त्यसकै भोलिपल्ट इटहरी चोककै एक फ्रेस हाउस पनि आगोले ध्वस्त भयो। आगो निभेपछि मात्र दमकल आइपुगेपछि स्थानीय रुष्ट भए।

० यही ठाउँमा २०१० सालमा आगलागी हुँदा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए। त्यो घटना त्यति बेलाको ठूलो विपत्ति थियो। त्यसयता बर्सेनि आगलागी र बाढीले स्थानीयलाई दुःख दिँदै आएको विभिन्न घटनाले देखाउँछ।

० इटहरी–४ पारुहाङ चोकमा २०७५ वैशाखमा मध्यरातमा आगलागी भयो। आगो निभाउन ५ सय मिटर पर रहेको दमकललाई बोलाइयो। तर, त्योभन्दा पहिला १८ किलोमिटर पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आयो। त्यस बेला चारवटा पसल जलेर नष्ट भए। १ करोड लगानी डुब्यो।

० अर्को चारतले भवनको तेस्रो तलामा २०७५ कात्तिकमा आगो लाग्यो। वरपरका केही पसलसहित १० करोड रुपैयाँको क्षति भयो। आगो निभाउन केही दमकल त पुगे तर उचाइमा लागेको आगो भएकाले त्यसको क्षमताले भ्याएन। त्यसपछि नजिकै रहेको सेन्ट्रल प्लाजाको बोरिङ पम्प प्रयोग गरियो।

अग्ला भवनका माथिल्ला तलामा भएको आगलागीले ठूलो आर्थिक क्षति पुर्‍याएको छ। आगो निभाउन प्रविधि, दमकल कर्मचारीमा आवश्यक सीप तथा उपकरण अभावका कारण इटहरीवासीले बर्सेनि क्षति भोगिरहेका हुन्। दमकलको भूमिका प्रभावकारी नभएको भन्दै स्थानीयले आलोचना गर्ने गरेका छन्। त्यसैले इटहरीमै रहेका सेना र प्रहरीको सहयोग लिने गरिन्छ। ‘दमकल र दमकल कर्मचारी मात्रको भर पर्‍यो भने त आगो निभ्दैन’, इटहरीका सरोज कोइराला भन्छन्, ‘निभाउनै डराउँछन्।’

दमकलप्रतिको अविश्वासको मुख्य कारक हो, समयमा घटनास्थलमा नपुग्नु। मुख्य चोकबाट इटहरी उपमहानगरपालिका नजिकै छ। त्यहाँका कर्मचारी दमकल लिएर छेउछाउकै घटनामा ढिलो पुग्छन्। पारुहाङ चोकको घटना होस् वा बिग बारमा लागेको आगो, दमकल ढिलो आएको भन्दै स्थानीय आक्रोशित भएका थिए। दुई मिनेट पनि नलाग्ने बाटोमा आधा घण्टासम्म ढिलो गरेपछि आफ्नो गरिखाने पसल जलेको पदम अधिकारी बताउँछन्।

ढिलो हुनुको मुख्य कारण भनेको दमकलभन्दा कर्मचारी केही टाढा रहनुलाई औंल्याइएको थियो। दमकलभन्दा १ सय ५० मिटर पर रहेको भवनको तेस्रो तलामा बस्ने कर्मचारीसम्म सूचना पुग्न र उनीहरू तयार हुन समय लागेको उपमहानगरका अधिकारी बताउँछन्। उपमहानगरपालिकाले गेटमै कर्मचारी बस्ने व्यवस्था गर्न लागेको छ। गेटनजिकै सार्वजनिक शौचालय र त्यसमाथि दमकल कर्मचारी बस्ने क्वार्टर बनाउने योजना रहेको उपमेयर लक्ष्मी गौतम बताउँछिन्।

कर्मचारीको बिजोग

इटहरी उपमहानगरपालिकामा एउटा मात्र दमकल सञ्चालनमा छ। पाँच वर्षअघि किनिएको हो त्यो दमकल। अर्को एउटा २० वर्ष पुरानो दमकल आठ महिनादेखि थन्किएको छ। मर्मत गर्न कार्यालय उदासीन देखिन्छ। इटहरीको दमकललाई चारै दिशाका सहरहरूमा हुने आगलागी निभाउन बोलाउने गर्छन्। तर, नगरमै भने पर्याप्त दमकल छैन।

त्यसमाथि दमकल कर्मचारीका लागि भरपर्दो सुरक्षा प्रबन्ध छैन। वारुणयन्त्र नियन्त्रक इन्चार्ज जेबी राईका अनुसार सुरक्षागार्डले लगाउने वर्दी लगाएर आगो निभाउनुपरेको छ। ‘फायरम्यानले लगाउने पोसाक छैन, आगो निभाउने मान्छे भनेर मात्रै हुँदैन, सुरक्षा साधनको पनि व्यवस्था हुनुपर्‍यो’, उनी भन्छन्।

इटहरीमा घर थपिँदा छन्। तर, अग्लो घरमा आगलागी भए सिँढीको आवश्यकता पर्छ, जुन इटहरीको दमकलसँग छैन। अग्लो घरमा लागेको आगो निभाउने क्षमता दमकलसँग नभएको उनी बताउँछन्।

उपमेयर गौतम भने दमकलले प्रभावकारी रूपमा काम गरेको दाबी गर्छिन्। दमकललाई अझै प्रभावकारी बनाउने योजनामा रहेको उनको भनाइ छ। हिमाल दाहालले अन्नपूर्ण पाेष्टमा लेखेकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*