दुई जना सहकर्मीको हत्या पछि आत्महत्या

निरन्तर न्यूज
१९ मंसिर २०७६, बिहीबार १४:४२

एजेन्सी । बुधबार अमेरिकाको हवाइ द्धिपमा भएको गोली काण्डमा ३ जनाको ज्यान गएको छ ।

हवाइ द्धिपको होनोलुलु नजिकै रहेको अमेरिकी सैन्य शिविरमा एक पानी जहाजचालकले गोली प्रहार गरी २ जना सहकर्मीको हत्या गरेका हुन् । गोली लागेर अर्का एकजना सहकर्मी गम्भीर घाइते भएको बिबिसीले जनाएको छ । घाइतेको अवस्था स्थिर रहेको जनाइएको छ ।

आफ्ना सहकर्मीलाई गोली प्रहार गरेपछि ती चालकले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । गोली प्रहार गर्ने चालक र मृतकको नाम खुलाइएको छैन ।

अधिकारीहरुले २ जना मृतक रक्षामन्त्रालयका कर्मचारी रहेको बताएका छन् । गोली प्रहार गर्ने चालक युएसएस कोलम्बिया नामक पनडुब्बीका चालक रहेको उनीहरुको भनाइ छ ।

घटनालगत्तै पर्ल हार्बरस्थित अमेरिकी सैन्य शिविर केही समय बन्द गरिएको थियो । हाल घटनाबारे अनुसन्धान भइरहेको छ ।

पर्ल हार्बरमा अमेरिकी जल तथा हवाइ सेनाको अखडा छ । जापानले दोस्रो विश्वयुद्ध ताका उक्त अखडामा आक्रमण गर्दा २ हजार ३ सय अमेरिकीको ज्यान गएको थियो । उक्त आक्रमणपछि अमेरिकाले औपचारिक रुपमा जापानविरुद्ध युद्ध घोषणा गरेको थियो ।

जापानी आक्रमणको ७८ औं वर्षगाँठको ३ दिन पहिला पर्ल हार्बरमा गोली काण्ड भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*