जबरजस्ती यौन व्यवसायमा लगाइएकी सुष्माको दुःखद् निधन

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार १६:३८

काठमाडौं । अहिले महिला हिंसाविरुद्ध दिनहुँजसो कार्यक्रमहरु भइरहेका छन् । तर, यस्ता कार्यक्रम चलिरहेका बेला एक महिलाले भने हिंसा मात्र होइन यौन प्रताडनाका कारण ज्यान नै गुमाउनु परेको छ ।

‘मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो’, केही दिनअघि जीवनको अन्तिम समयमा अस्पतालको शैंयाबाट सुष्मा केसीले भनेकी थिइन् । तर पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा हुने छैन ।

काठमाडौंको होटलमा जबरजस्ती यौन व्यवसायमा लगाइएकी उनी सदाका लागि बिदा भएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनको सोमबार दुःखद् निधन भएको छ । यद्यपि अस्पतालको शैंयाबाट उनले दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दयनीय अवस्थामा काठमाडौं बालाजुको माछापोखरीस्थित सडकबाट उद्धार गरिएकी २२ वर्षीया सुष्माको बोली टाठै थियो तर, ज्यान भने गलिसकेको थियो । जीवनको अन्तिम अवस्थासम्म उनले आफ्नो पीडा र चाहना सबै माझ सुनाएकी थिइन् । प्रहरीसँगको बयानमा आफूलाई यौन व्यवसायमा लगाउने व्यक्ति भनेर उनले केही मान्छेको नाम उल्लेख गरेकी थिइन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

‘उनले धेरै पटक आफूलाई पीडा दिने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ भन्नु हुन्थ्यो, रात दिन नभनी उहाँको जीवन बचाउन विभिन्न अस्पताल लग्यौं, तर रोगले गलिसकेको अवस्थामा फेला परेकाले बचाउन सकिएन’, पछिल्लो समयमा उनको रेखदेख गर्दै आएको मानव सेवा आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने ।

उनको सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमानको मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाई दिने भनेर काठमाडौं ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् । त्यो बेला मदिरासँगै केही धुलो जस्तो खुवाउने गरेकाले ग्राहक आए पनि के गर्छ भन्नेसम्म आफूलाई थाहा नहुने गरेको उनले भनेकी थिइन् ।

होटलमा यौनतृप्तीका लागि नेपालीदेखि विदेशी पनि आउँथे । नमान्दा तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले बताएकी थिइन् । उनको शरीरभरि चुरोटले पोलेको र तातोपानीले डामेको घाउ प्रसस्तै देखिन्थो ।

महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले होटलमा काम गर्ने भनेर काठमाडौं ल्याएर उनलाई छाडेकी थिइन् । प्रहरीका अनुसार उनी आन्तरिक बेचबिखनमा परेकी थिइन् । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनको बयानका आधारमा चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

‘ज्यानभरी चुरोटै–चुरोटले पोलेको अवस्थामा भेटिएको थियो, अस्पतालमा उपचार गराइरहेका थियौं, कलेजो नै ड्यामेज भएकाले उपचार प्रयास असफल रह्यो’, प्रहरी नायब उपरीक्षक बोगटीले भने । उनको निधन भए पनि आवश्यक प्रमाण जुटाइसकेकाले घटनाको अनुसन्धान भने जारी रहने उनले बताए । उनी झण्डै दुई वर्षदेखि यसरी काठमाडौंमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।

कलेजोले काम नगरेको र पेट फुल्ने गरेकाले दैनिक पानी निकाल्ने गरिएको थियो । अस्पतालमा उच्च प्रोटिन दिएर राखिएको थियो । गम्भीर अवस्थामा माछापोखरीस्थित सडकमा महिला रहेको खबर आएपछि मानवसेवा आश्रमले गत कात्तिकमा उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

प्रहरीले अहिलेसम्म उनको परिवार पनि फेला पार्न सकेको छैन । उनको उपचारकै क्रममा सोमबार वीर अस्पतालमा निधन भएको छ । उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले परिवारको खोजी जारी रहेको र पत्ता लागेपछि शव बुझाउने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*