प्रधानमन्त्री अझै एक साता अस्पतालमै

निरन्तर न्यूज
१३ मंसिर २०७६, शुक्रबार १२:१५

कामठाडौं । मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा उपचाररत प्रधानमन्त्री अझै एक साता अस्पतालमै रहने चिकित्सकले जानकारी दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत विशेषज्ञ चिकित्सकले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।

“प्रधानमन्त्रीज्यू एकसाता अझै अस्पतालमा रहनुहुन्छ । दश दिनपछि नियमित काम गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको छ,” विशेषज्ञ चिकित्सक डा। दिव्या सिंह शाहले जानकारी दिए । एपेन्डिसाइटिसको शल्यक्रियापश्चात सघन कक्षमा उपचाररत प्रधानमन्त्रीको मङ्गलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको भण्डारीको भनाइ छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्या सिंहले नियमित डायलाइसिस गराउनुभन्दा प्रत्यारोपण उत्तम विकल्प रहेको बताइन् । प्रधानमन्त्रीको उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिस फुटेको नभइ पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अङ्ग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना ज्यादा हुने जानकारी दिए ।

“सामान्य बिरामीको पेटमा सङ्क्रमण फैलन १२ घण्टा लाग्छ । तर अङ्ग प्रत्यारोपण गरिएको बिरामीको ३–४ घण्टामै फैलन्छ । प्रधानमन्त्रीको भएको त्यही हो,” चिकित्सकले जानकारी दिए । डा. दिव्याले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको जानकारी दिइन् । प्रधानमन्त्रीले सामान्य हिँडडुल गर्न थालेको उनको भनाइ छ ।

१२ वर्षअघि सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिकमै डायलाइसिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*