प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा थप सुधार हिंड्न र खाना खान सक्ने (अपडेट)

निरन्तर न्यूज
१२ मंसिर २०७६, बिहीबार १३:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने भएको जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले पनि बिहीबार बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ ।

ओलीले विहीबार बिहान परिवारका सदस्य र चिकित्सकसँग हाँसो ठट्टा गर्न सुरु गरेको बताइएको हो । उनले अस्पतालको सघन उपचार कक्षमा पनि आफ्नो मौलिक शैलीमा हाँसो ठट्टा गर्ने, मोबाइल चलाउने र हिंडडुल गरेका छन् ।

प्रधानमन्त्री ओलीले शल्यक्रियाको भोलिपल्ट नै हिंडडुल गर्न थालेपछि चिकित्सक र परिवारका सदस्यहरुले रोक्नुपरेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

उनले विहीबार बिहान आफ्नो ट्वीटर समेत अपडेट गरेका छन् भने केहीलाई रिप्लाइ समेत गरिसकेका छन् ।

ओलीले आफू चार दशक पुरानो बिरामी भएकोले उपचार गर्न तर धेरै नरोक्न चिकित्सकलाई आग्रह गर्ने गरेको ती चिकित्सकले बताए । ‘मलाई उपचार गर्नुस् तर रोकेर नराख्नुस, मलाई एक- एक मिनेटको महत्व छ,’ ओलीको भनाई उद्धृत गर्दै उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*