राप्रपा नेता राई चार दिनदेखि बेपत्ता

निरन्तर न्यूज
८ मंसिर २०७६, आईतवार १३:१५

‘साथीलाई भेट्नु छ’ भन्दै बुधबार काठमाडौं मण्डिखाटारस्थित घरबाट निस्केका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उत्तम राई चार दिनदेखि बेपत्ता छन्।

७१ वर्षीय राई अल्जाइमर्स रोगका पीडित रहेको परिवारले जनाएको छ। राईले हाँकेको मोटर दुई दिनपछि सिंहरदबारको पूर्वी गेट अनामनगरमा भेटिए पनि राई भने बेपत्ता नै छन्।

‘साथीले बोलाएको छ, बाहिर गएर आउँछु’ भनेर निस्केका उत्तम घर नफर्केको राईकी पत्नी उषाले बताइन्।

‘बुधबार बिहानै साथीले बोलाएकाले जानु छ भन्नु भएको थियो, खाना खाएर बाहिर निस्केपछि घर फिर्नु भएको छैन’, उषाले भनिन्, ‘चार दिन भयो, हामीले खोज्नु पर्ने सबै स्थानमा खोजिसक्यौं।’

पहिले चालक साथमा जाने गरेपनि यसपटक राई ‘वर्षौंदेखि मोटर चलाउँदै आएको छु, केही हुँदैन’ भन्दै निस्केको उनले बताइन्।

‘बुधबार साँझसम्म आउनु होला भन्ने आशमा बस्यौं, रातिसम्म नआएपछि आफन्तहरुकोमा सोधपुछ गर्यौं’, उषाले भनिन्, ‘बिहीबार पार्टीका नेताहरुलाई यसबारे बतायौं।’

राप्रपाका नेताहरुले बेपत्ता राईलाई खोजिदिन सामाजिक सञ्जालबाट आग्रह गरेका छन्। राप्रपाका केन्द्रीय सदस्य भरत पाठकले अनामनगरका सीसी क्यामेरा फुटेजमा बुधबार राती साढे ११ बजेतिर राई मोटरमा निस्केर हनुमानस्थानतर्फ जाँदै गरेको देखिएको तर त्यसपछि बेपत्ता रहेको बताए।

‘बुधबार राती अनामनगरस्थित एक बैंकका गार्डलाई राईले यहाँ सुत्न मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको भेटिएको छ’, पाठकले भने, ‘त्यसपछि मोटरमा आएर त्यहाँ बसे पनि राती साढे ११ बजे निस्केर हिंडेपछि भेटिनु भएको छैन।’

पाठकले राई बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएको बताए।

अंग्रेजी साहित्यका पूर्व सहप्राध्यापक राई करिब डेढ वर्षदेखि अल्जाइमर्सको उपचार गराइरहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*