बार्सिलोनाका खेलाडीहरु नेयमारलाई फर्काउन तलब कटौती गर्न तयार

काठमाडौँ । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी हुन् नेयमार ।
उनी बार्सिलोना छोड्दै पिएसजी हानेपछि नयाँ उदय हुने अनुमान गरिएको थियो । तर, उनले बार्सिलोनामा पाएको जत्तिको चर्चा पनि हाल पाउन सकिरहेका छैनन ।
फलस्वरुप उनले पिएसजी क्लब छोड्ने हल्ला चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोना फर्कन चाहन्छन् । बार्सिलोनाका खेलाडीहरु पनि उनलाई स्वागत गर्न चाहन्छन् ।
तर, बार्सिलोनाले यस सिजनको सुरुवातमा उनलाई फर्काउन हरसम्भव प्रयास गरेको बताएको थियो तर, उनसँग भने सम्झौता भने गर्न सकेन । बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिकेले बार्सिलोनाका खेलाडीहरु नेयमारलाई फर्काउन हदैसम्म लचिलो हुने बताएका छन् ।
उनले भनेका छन्, ‘क्लबले चाहेमा हाम्रो तलबमा कटौती गरोस तर, नेयमारलाई क्लबमा फर्काओस् ।’
उनले थप्दै भनेका छन्,’क्लबप्रति हाम्रो उच्च सम्मान रहेको छ । हामीलाई थाहा छ एफएफपीका कारण नेयमारलाई क्लबमा ल्याउन कठिन भएको छ । खेलाडीहरुसँग एक खाले सहमति गरेर क्लबले नेयमारलाई अनुबन्ध गर्न सक्छ ।’
दुई वर्ष अगाडि आफुहरुले नेयमारलाई सुनको पिजँडामा जादैछौँ भनेर सुझाव दिएको उनले बताए ।