आईएसआईएसका प्रमुख बग्दादी मारिएपछि उक्त संगठनले नयाँ नेता छान्याे

निरन्तर न्यूज
१२ कार्तिक २०७६, मंगलवार ०७:२६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूह आईएसआईएसका प्रमुख अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेको भोलिपल्ट नै उक्त संगठनले नयाँ नेता नियुक्त गरेको छ ।

सोमबार आईएसआईएसले नयाँ चयन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । डेली मेलका अनुसार जिहादी समूहको नयाँ नेतामा अबदुल्लाह करदाश नियुक्त भएका हुन् ।

करदाश इराकी सेनाका पूर्व अधिकृत हुन् । उनी सद्दाम हुसेनको शासनकालमा सैन्य अधिकृतको रुपमा काम गरेका अनुभवी कमाण्डर समेत हुन् । करदाशको बारेमा थप विवरणबारे भने समाचारमा केही खुलाइएको छैन ।

बग्दादीले आफ्नो मृत्यु हुनु एक साताअधि नै करदाशलाई संगठनको प्रमुख तोक्ने निर्णय गरेको बताइएको छ ।

ट्रम्पले आइतबार ह्वाइट हाउसमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी बग्दादी मारिएको आधिकारिक पुष्टि गरेका थिए ।

‘अमेरिकी सेनाले सिरियामा भएको एक कारबाहीमा बग्दादीलाई मारेका छन्,’ पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अबु बकर अल बग्दादी मरे । उनी इस्लामिक स्टेटका संस्थापक थिए । यो विश्वको सबैभन्दा हिंसात्मक र क्रूर संगठन हो । अमेरिकाले बग्दादीलाई धेरै वर्षदेखि खोजिरहेको थियो ।’

बग्दादी अमेरिकाको कति प्राथमिकतामा थियो भन्ने स्पष्ट पार्दै उनले भने, ‘बगदादीलाई जिउँदै पक्रन वा मार्नु मेरो सरकारको पहिलो राष्ट्रिय सुरक्षा प्राथमिकता हो। अमेरिकी सेनाका विशेष सेनाहरूले रातमा उत्तर पश्चिम सिरियामा बहादुरी र खतरनाक अपरेशन गरेर यो ठूलो सफलता हासिल गरेका छन् ।’

ट्रम्पले पत्रकार सम्मेलनअगाडि नै एक ट्वीट सन्देशमार्फत् बग्दादी मारिएको संकेत गरेका थिए । उत्तर पश्चिमी सिरियाको इदलिभ प्रान्तमा बग्दादी मारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु