चिनियाँ राष्ट्रपतिको सीको भ्रमणका क्रममा त्रिभुवन विमानस्थल प्रभावित
काठमाडौं । चिनियाँ राष्ट्रपतिको सी जिनपिङको शनिबारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा त्रिभुवन विमानस्थल प्रभावित हुने भएको छ । उनको भ्रमणको कारण विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएका छन् ।
विमानस्थलको उडान दुई दिन नै प्रभावित हुनेछ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले उड्डयनकर्मीका लागि जारी गरिने सूचना नोटाम अर्थात् नोटिस टू एयरमेन जारी गर्दैछ ।
राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५: ३० को बीचमा काठमाडौं अवतरण गर्ने र आइतबार १२ः३० गते स्वदेश फर्कने कार्यतालिका छ । नोटाम जारीसँगै वायुसेवा कम्पनीहरूले आफ्ना उडान अनिवार्य सार्नुपर्ने हुन्छ।
विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिनेछ । त्रिभुवन विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मको उडान र अवतरण प्रभावित हुनेछन् भने आइतबार बिहान ११ः२० देखि दिउँसो १:५० सम्म विमानस्थल प्रभावित हुनेछ ।