बडादसैंको महानवमीका दिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड
काठमाडौं । बडादसैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौं दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट दर्शनार्थीको लाइन लगाइएको छ । सोमबार बिहानै देखि मन्दिरमा पूजाआजा र बलि दिने क्रम चलिरहेको छ ।
तलेजु भवानीको मन्दिर मल्लकालमा निर्माण गरिएको थियो । यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ । यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।
त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन् ।