चेक चाेरेर किर्ते गरि २ कराेड रुपैया निकाल्ने ठाकुर प्रहरी फन्दामा
काठमाडौं । विभिन्न कार्यालयहरुको चेक चोरेर किर्ते गरी करिब २ करोड रकम निकाल्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयका प्राविधिक प्रवीणकुमार ठाकुर रहेका छन् । ठाकुरले बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकालेको प्रहरीको भनाइ छ ।
नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट आरोपित प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
ठाकुरले परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी विभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेका थिए ।
बयालिस वर्षीय ठाकुर परिषदमा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत छन् । उनी महोतरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीले ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९ सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार रकम निकालेका थिए ।