सुर्खेत गाैहत्या प्रकरण छानविनकाे रिपाेर्ट सार्वजनिक, क-कसलाई भयाे कारवाहीकाे सिफारिस

काठमाडौं । भदौ १२ गते सुर्खेतमा भएको गौहत्या प्रकरण छानबिन गर्न बनेको समितिले नेपालगञ्ज उप–महानगरपालिकाका पदाधिकारी र कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।
गृह मन्त्रालयद्वारा गठित छानविन समितिले बुधबार गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउँदै कारबाही गर्न सिफारिस गरेको हो। समितिले नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, कर्मचारी, ढुवानीमा संलग्नलाई कारबाहीको सिफारिस गरेको छ ।
समितिले छानबिनका क्रममा टोलीले बाँके, सुर्खेत र दैलेखका स्थानीय तह, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, पत्रकार गरी दुई दर्जनभन्दा बढी व्यक्तिसँग प्रत्यक्ष कुराकानी गरेको थियो । समितिले घटनास्थल सुर्खेतलगायत बाँके र दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो।
गत भदौ १२ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै तीन सय गाइगोरु ट्रकमा लोड गरेर सुर्खेतको विभिन्न स्थानमा छाडेको थियो। सोही क्रममा४० भन्दा बढी गाईगोरु मरेका थिए।
घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रहरीले ट्रक चालक शत्रुधन चौधरीसहित दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालकहरु सरोज विश्वकर्मा, कमलप्रसाद नेपाल र अमृत चौधरीलाई यसअघि नै पक्राउ गरेको छ ।
बुधबार छानबिन समितिले गौहत्यामा संलग्नलाई कारबाही गर्न सिफारिस गरेपछि नेपालगंज उप-महानगरपालिकाका पदाधिकारी र कर्मचारीहरु कानुनी दायरामा आउने संभावना बढेको छ ।
तर समितिले पेश गरेको प्रतिवेदनमा कारबाही गर्नुपर्ने पदाधिकारी र कर्मचारीको नाम भने उल्लेख गरिएको छैन ।