नौबिसे-नागढुङगा सडकलाई लाग्यो दसैं : राजधानी छिर्न ३५ किलोमिटर जाम !

मनीष दुवाडी
९ आश्विन २०७६, बिहीबार १९:१८

धादिङ । दसैं तिहार नजिकिएका बेला राजधानीलाई चाहिने आवश्यक उपभोग्य सामान भित्रिने क्रम बढ्दो छ। अर्कोतर्फ, चाडपर्व मान्नको लागि लाखाैँ मानिस घर फर्किरहेका छन्। यही कारण सडकमा मालवहाक र यात्रुबाहक गाडीको चाप बढिरहेको छ।

तर, यही बेला सडक विभागले भने त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्डमा मर्मतकार्य सुरु गरेको छ। यही कारणले गर्दा राजधानी भित्रिने नाका नागढुङ्गा क्षेत्रमा एक सातादेखि बाक्लो सवारी जाम देखिन थालेको छ।

यो प्रवृति अपवाद भने होइन, प्रत्यक वर्ष जब नौबिसे-नागढुङगा क्षेत्रमा सवारी चाप बढ्न थाल्छ त्यसै बेला टालटुले मर्मतको काम सुरु हुन्छ। मंगलबार र बुधबार मात्रै बाटो मर्मतका कारण सवारी चाप बढ्दा राजधानी छिर्ने सवारी साधनहरु करिब ३० किलोमिटर लामो जाममा परे। साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्।

नौबिसै भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँठाउँमा खाडल पर्दा निकै जीर्ण छ। मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन्। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँ ठाउँमा धसिएको छ। मर्मत गरेपनि धेरै समय नटिक्ने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने हतारहतार टालटुल गर्ने काम सुरु हुन्छ।

यो वर्षपनि गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम अझैंसम्म नसकिँदा दसैं तिहारमा राजधानी भित्रिने र बाहिरिने यात्रुलाई सास्ती थपिने भएको छ। चाडपर्वका बेला यातायात सहज बनाइने दाबी सरकारले गरेपनि मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डीका कारण यात्रुलाई हरेक वर्ष सास्ती थपिन्छ।

उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्याधिक भार बोेकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवार बताउँछन्। उनका अनुसार सडकमा सवारी जाम गराउने ठूला र लामा ढुवानीका साधन हुन्। व्यापारिक सामग्री बोकेर आउने १२ देखि २२ चक्के मल्टिएक्सल कन्टेनर र लरीहरू खानीखोलाबाट उकालो लाग्न थालेपछि सवारी जाम सुरु हुने गर्दछ।

जाम हटाउन र सवारी आवागमन सुचारु गराउनको लागि प्रहरीले विशेष टोली खटाएर काम पनि गरिरहेको छ। तर, अत्याधिक भार बोकेका सवारीसाधनहरु बिग्रिने र लामा सवारी साधनहरुलाई मोड नपुग्ने भएपछि बाटो त्यसै जाम हुने गरेको छ।

‘विहान ६ बजे धादिङवेशीबाट हिडेको ८ बजे धार्के आइपुगिइएको थियो तर १ बज्दासमेत नागढुङगा पुग्न सकिएन’, धादिङबाट काठमाडौं जाँदै गरेकी ऋतु लम्साल भन्छिन्।

पृथ्वीराजमार्गको अधिकतम भार १५ टन भए पनि ४२ टनसम्म सामान बोकेका साधन हरेक दिन राजधानी भित्रिने गरेका छन्। ‘नागढुङ्गा क्षेत्रमा बढी जाम हुने समस्या देखिन थालेपछि जाम भएको बेला नो ओभरटेक जोन घोषणा गरेका छौँ’, प्रहरी प्रमुख बैदरवार भन्छन्,‘बढी भार बोकेका र मल्टी एक्सल सवारी साधनलाई दिउँसोको समयमा धार्के भन्दामाथि जान निषेध गरेका छौँ।’

दसैं तिहार लक्षित गरी दैनिक १२ हजार सवारीसाधन र मालवाहक साधन राजधानी भित्रिने गर्छन्। १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिने गर्छन्। ती मध्ये ७ सय बढी १८ चक्केदेखि २२ चक्के भारतीय मालवाहक साधन आउन थालेका छन्। राजधानीमा राति मात्रै गुड्ने अनुमति पाएका टिपर पनि साँझ एकै पटक धेरै जाने भएपछि राजमार्ग झनै व्यस्त हुने गरेको छ।

बढी बार बोकेका लामा सवारी साधनहरुलाई जरिवाना/कारवाही फितलो हुँदा जामको बेला सवारी आवागमन सहज बनाउन प्रहरीलाइ पनि हम्मेहम्मे पर्छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्र प्रसाद भट्ट भन्छन्,‘बढी भार बोक्नेलाइ हामीले जरिवाना गराउने हो, रोक्ने अधिकार हुन्न, उनीहरु जरिवाना तिर्छन सवारी गुडाइरहन्छन्।’

नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले पाएको थियो। चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बाध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको हो। अत्याधिक सडक विग्रेका ठाउँहरुमा मर्मत सकिने र सवारी आवागमन केही सहज हुने ठेकेदार कम्पनीले जनाएको छ। अन्नपूर्ण पाेष्टमा मनिष दुवाडीले  लेखेकाे तश्विर सहितकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*