बस पल्टिँदा मकवानपुरका तिमिल्सिनाको मृत्यु

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. १० मा राति पौने २ बजे दाङबाट काठमाण्डौतर्फ जाँदै गरेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।
ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नंं ८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राती कार र ट्रक ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ ।
राति सवा १० बजेको समयमा खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ज्यान गुमाउनेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।