जनताका मुद्दालाई सुक्ष्म ढंगले उठान गर्न जरुरी

हेटौंडा / जनतासँग जाेडिएकाे एजेण्डामा सचेत नागरिक समाज र सञ्चारकर्मीहरुकाे सहकार्यमा सुक्ष्म ढगले आवाज बुलन्द गर्नु पर्ने सराेकारवालाहरुले बताएका छन् ।
इन्सेक नेपालको आयोजनामा हेटौंडामा आयोजित “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य बिषयक” अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जनताका मुद्दामा सबै पक्ष एक भएर लाग्न जरुरी भएकाे धारणा राखेका छन्।
कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष सरीता दाहालले नागरिकका खाद्य सुरक्षा, स्वास्थ र शिक्षाका क्षेत्रमा सञ्चारकर्मीहरुले विभिन्न बिषयहरु उठान गरेपनि नागरिक समाजका अगुवा संस्थाहरुले चासोका साथ नलिँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । संचारकर्मीहरुले उठान गरेका बिषयवस्तुहरु नागरिक समाजका व्यक्तिहरुले पनि संगै उठान गरे सम्बन्धित निकायको ध्यान जाने र समाधानको लागि पहल हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटाले जबसम्म शिक्षा, स्वास्थ र खाद्य सुरक्षाको बिषयमा आम नागरिकले पूर्णता प्राप्त गर्न सक्दैन तबसम्म समाजमा भएका भौतिक विकासको अर्थ नरहने बताउनुभयो । कोक्याप नेपालका उपाध्यक्ष दिपेन्द्र ढकालले विकासका चरणहरुमा अब भौतिक विकास संगै आम मानिसको स्वास्थ, शिक्षा र खाद्य अधिकारको सुनिश्चितताको विकास पनि अनिवार्य रहेको बताउनुभयो ।
इन्सेक नेपाल मकवानपुर जिल्ला प्रतिनिधी पुष्पराज अधिकारीले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।