डेंगुबारे जवाफ दिन सरकारलाई सभामुख महराकाे रुलिङ

निरन्तर न्यूज
२६ भाद्र २०७६, बिहीबार १४:३२

काठमाडौं। डेंगुले प्रकोपकै रुप लिइसक्दा पनि सरकार मौन रहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सदनमा प्रश्न गर्न थालेपछि सभामुख कृष्णबहादुर महराले जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले विहीबार आपत्ति जनाए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रश्न गर्दै भने, ‘सांसद मरेपछि मात्रै सरकार बोल्ने हो ?’

काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको भन्दै उनले रोष प्रकट गरे । यसबारे सरकारका मन्त्री नबोल्नु लज्जास्पद विषय भएको उनको निष्कर्ष थियो ।

‘डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ । यो भन्दा लज्जास्पद के हुन्छ ? आँखाका चिकित्सक सन्दुक रुइतसमेत बिरामी पर्नुभयो। कति मान्छे मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो ?’ श्रेष्ठको प्रश्न थियो ।

अमेरिकाले नेपालमा डेंगु फैलिएकोले भ्रमण नगर्न अनि नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चिठी लेखिसकेको उनले स्मरण गराए । श्रेष्ठले यसबारे तत्काल रुलिङ गर्नका लागि सभामुखलाई आग्रह गर्दै भने, ‘यदि सरकारले तत्काल जवाफ दिँदैन भने म विरोधमा उत्रिन्छु ।’

श्रेष्ठको धारणालाई अर्का सांसद गणेश पहाडीले पनि समर्थन गरे । नेकपाका अर्का सांसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले डेंगु प्रकोप हो कि महामारी ? भनेर प्रश्न गरे । प्रकोप भए सरकारको स्वास्थ्य मन्त्रालय र सम्बन्धित स्वास्थ्य संस्थाहरूले नियन्त्रण गर्नुपर्ने उनको मत थियो । उनले अगाडि थपे, ‘यदि महामारी हो भने जनचेतना जगाउन सबै लाग्नुपर्छ ।’

सदनमा धेरै सांसदहरूले पटकपटक उक्त कुरा उठाए । सांसदहरुले चर्कोरुपमा ध्यानाकर्षण गराएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई डेंगुबारे यथाशीघ्र जवाफ दिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु