भीमफेदी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास

स्थानीय सरकार सफल नभए संघियता नै असफल हुने : मुख्यमन्त्री पाैडेल
निरन्तर न्यूज
२६ भाद्र २०७६, बिहीबार ०८:०३

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएकाे छ ।

मुख्यमन्त्री पौडेलले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको भुमिका महत्वपुर्ण हुने हुनाले स्थानीय सरकार बलियो हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले विकास निर्माणलाई तिव्रता दिएका भन्दै उहाँले स्थानीय सरकार सफल नभए संघियता नै असफल हुने बताउनुभयो । जनताको नजिकको र बलियो सरकारका रुपमा रहेको स्थानीय सरकारलाई बलियो बनाए मात्र संघीयता संस्थागत हुने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिकाको सफलता नै जिल्ला समन्वय समितिको सफलता भएको बताउनुभएको छ । स्थानीय तहमा आउने जस्तो सुकै समस्यामा समन्वय र सहकार्य गर्दै आउको भन्दै उहाँले स्थानीय तहको सफलताकोलागि समन्वय र सहकार्यमा कुनै कमि नआउने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाको भवन निर्माण सुरु हुँदा हर्षित भएको भन्दै गाउँपालिकामा भवन निर्माण भएपश्चात सेवा अझै प्रभावकारी हुने बताउनुभयो ।

साविकको जिल्ला विकास समितिको नाममा रहेको उत्त जग्गा जिल्ला समन्वय समितिले गाउँपालिकालाई प्रदान गरेको हो । जिल्ला समन्वय समितिले भीमफेदी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकालागि करीब ८ कठ्ठा जग्गा प्रदान गरेको हो । साथै गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समिति मकवानपुरले मौज्दात कोषबाट १ करोड रुपैयाँ अनुदान समेत प्रदान गरेको छ ।

गाउँपालिकाको भवन निर्माणकालागि कुल ४ करोड १२ लाख ८२ हजार रुपैयाँ लागत लाग्ने बताईएको छ । जसमा जिल्ला समन्वय समिति मकवानपुरले १ करोड अनुदान दिएको छ । त्यस्तै गाउँपालिकाले भवन निर्माणको लागि २ करोड रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । २०७७ साल असार १३ गते सम्म सम्पन्न गर्नुपर्ने गरि आर.एण्ड सि÷नेचुरल जेभीलाई उत्त प्रशासकीय भवन निर्माणको ठेक्का दिईएको छ । गाउँपालिका अध्यक्ष लामाको सभाध्यक्षतामा  शिलन्यास कार्यक्रम भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*