हेटाैँडाका अन्जनको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले हरायाे

निरन्तर न्यूज
२५ भाद्र २०७६, बुधबार ०७:४६

काठमाडौं  । अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण बुनेपानी नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे । प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकर्ता अन्जनसँगै डिफेन्समा रजिन धिमाल र दिनेश राजवंशी टोलीमा फर्केका थिए ।

पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड गर्दै अन्जनतर्फ दिए । अन्जनले अनमार्क रहेको अवस्थामा पेनाल्टी क्षेत्रबाहिर उत्कृष्ट बल नियन्त्रणमा लिए र दोस्रो टचमा सानदार हाफ भलीमा गोल गरे । २ गोलले पछाडी परेपछि ताइपेइले आक्रमणमा थप बढावा दिएको थियो । ताइपेइले गोल फर्काउन नसकेपछि नेपालले जित दर्ता गरेको हो ।

यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ । आज नै समूहको अर्को खेलमा अष्ट्रेलियाले कुवेतको घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु